काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा विरोध प्रदर्शन गर्ने निश्चित स्थानहरु तोकको छ । सरकारले तोकेको स्थानबाहेक विरोध प्रदर्शन गर्न नपाईने र गरेमा कानुनअनुसार कारबाही हुने पनि गृह मन्त्रालयले जनाएको छ ।
गृहले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो। गृहले साउनबाट लागू हुने गरी ७५ वटै जिल्लामा विरोध प्रदर्शन स्थल तोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ।
धार्मिक, सांस्कृतिक र सामाजिक कामहरु गर्न रोक नलगाइने तर त्यस्ता गतिविधि गर्दा सार्वजनिक यातायात अवरोध हुन नहुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए। पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले अब पहिले जस्तो जहाँ पायो त्यही विरोध प्रदर्शनगर्न नपाइने बताए।
गृहमन्त्री थापाले शान्ति सुरक्षा कायम गर्नका निम्ति विरोध प्रदर्शनका निश्चित स्थान तोकिएको तर्क गरे। हिजोका दिनमा तपाईहरुले पनि सबै ठाउँमा विरोध प्रदर्शनगर्नुभयो अहिले किन त्यही स्थानमा निषेध गर्दै हुनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘हिजोको कुरा वेग्लै थियो। अब विधिको शासन चल्छ।’ उनले शान्ति र सुव्यवस्था खलबलाउन नदिन आफूहरुले विरोध प्रदर्शनको निश्चित स्थान तोक्नु परेको बताए।
विरोध प्रर्दशनका निम्ति तोकिएका स्थानहरु :
काठमाडौंमा
खुलामञ्च
कोटेश्वरको तीनकुने खुल्ला चौर
पेप्सीकोला खेल मैदान
सानो गौचरन फुटबल मैदान
लैनचोरको समाज कल्याण परिषद् अघिको खुल्ला स्थान
गौशालाको सिफल चौर
भूईखेल, भगवानपाउ
ललितपुरमा
च्यासल खेल मैदान
बज्रबाराही मन्दिर अघिको खुला ठाउँ
गोदावरी बसपार्कको छेउ
भैसेपाटी च्यासीकोटको खुला स्थान
लुभु ससमुच लामाटार
धोबीघाट मुहान पोखरीको छेउ
भक्तपुरमा
सल्लाघारीस्थित नेपाल ट्रस्टको ९९ रोपनी जग्गा