२०८३, १९ बैशाख शनिबार
×

ट्रेन्डिङ

पैसा बाँडेको आरोपमा निर्वाचन आयोगले शक्ति बस्नेतलाई स्पष्टीकरण सोध्यो

0 Shares
Spread the love

पूर्व गृहमन्त्री तथा जाजरकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्ति बस्नेतलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । बस्नेतलाई मतदातालाई पैसा बाँडेको आरोपमा स्पष्टीकरण सोधिएको हो ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपसहित उजुरी प्राप्त भएपछि छानबिनका क्रममा बाजागाजा बजाउँदै आचारसंहिता विपरीत गतिविधि गरेको देखिएको समेत बताएको छ ।

‘बाजागाजा बजाइरहेको देखिने समूहका सदस्यहरुलाई पाँच सय रुपैयाँका नोटहरु प्रदान गर्दै गरेको देखिएकाले’ स्पष्टीकरण बुझाउन आयोगले भनेको छ ।

आयोगले जारी गरेको पत्रमा निर्वाचन आचारसंहिता विपरीतको कार्य गरेको देखिएकाले किन निर्वाचन कानुनबमोजिम कारबाही नगर्ने भन्ने सम्बन्धमा स्पष्टीकरण पेस गर्न आग्रह गरेको छ।

आयोगले उक्त पत्र प्राप्त भएको मितिले तीन दिनभित्र स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालय जाजरकोट अथवा निर्वाचन आयोग, नेपालमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया