२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

‘एनआरएनएको महाधिवेशन तोकिएकै मितिमा हन्छ’ – संयोजक शेष घले

कोष निर्माणका लागि घलेले गरे १० हजार युरो सहयोग
0 Shares
Spread the love

भरत प्रधान,लिस्बन। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक एवं सङ्घका पूर्व अध्यक्ष डा. शेष घलेले सङ्घको महाधिवेशन तोकिएकै मितिमा हुने बताएका छन् ।

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलद्वारा राजधानी लिस्बनमा आयोजित बृहत् अन्तरक्रियामा संयोजक घलेले तीन महिना अगावै महाधिवेशनको मिति घोषणा गरिएको उल्लेख गर्दै तोकिएकै मितिमा सङ्घको महाधिवेशन हुने बताएका हुन् । घलले भने, “तोकिएको मितिमा महाधिवेशन हुन्छ, कुनैपनि हालतमा मिति परिवर्तन हुँदैन ।” उनले नयाँ संरचनासहितको नयाँ एनआरएनए बनाउने अभियानमा लाग्न सबै अभियन्ताहरुलाई आह्वान गरे । आगामी मे महिनामा काठमाडौंमा हुने महाधिवेशनमा सहभागी भइ एकताको महाधिवेशनलाई सफल पार्न घलले आग्रह गरे ।

पूर्व अध्यक्ष एवं उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले सहमतिको पालना नगर्दा संस्थाको यो हविगत भएको बताए । उनले सर्वोच्च अदालतको परमादेश पालना गर्नुको विकल्प नरहेको बताए । सङ्घका पूर्व अध्यक्ष एवं उच्चस्तरीय समितिका अर्का सदस्य विनोद कुँवरले सर्वोच्चको फैसलालाई टेकेर तयार गरिएको कार्यविधि अनुरूप एकताको महाधिवेशन तयारी भइरहेको बताए ।

सङ्घका अध्यक्ष राजेन्द्रकुमार शर्माले सङ्घलाई एकताबद्ध बनाउने जिम्मेवारी सबै अभियन्ताहरुको काँधमा आएको उल्लेख गर्दै उक्त जिम्मेवारी सबै मिलेर पूरा गर्नुपर्नेमा जोड दिए । सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले आगामी मे ३ देखि ५ मा काठमाडौँमा सङ्घको एकता महाधिवेशनको मिति तय गरिसकेको छ ।

संघकी अध्यक्ष दीपा काफ्लेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघका पूर्व संरक्षक दिल गुरुङ, सङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष थर्क सेन, केन्द्रीय सचिव धर्मराज खतिवडा, एनआरएनए युरोप संयोजक चिन्तामणि सापकोटा, संघका केन्द्रीय सह-कोषाध्यक्ष तिलक गैरे, एनआरएनए अभियन्ता गंगाधर गौतम, एनआरएनए पोर्चुगलका संस्थापक अध्यक्ष पूर्णबहादुर हमाल, पूर्व अध्यक्ष रमेशकुमार गुरुङ, पूर्व अध्यक्ष सोमफुरी शेर्पा, उपाध्यक्ष सुजन लामा, महिला संयोजक सरिता शर्मा, कार्यवाहक महासचिव दिपेश बिष्टलगायतले बोलेका थिए ।

सो अवसरमा पोर्चुगलमा समस्यामा परेका नेपालीको राहत र उद्धारका लागि संघलाई १० हजार युरो सहयोग गर्ने घोषणा गर्दै घलेले राहत र उद्धारका लागि छुट्टै कोष निर्माण गरेर सञ्चालन गर्न आग्रह गरे । राहत र उद्धार कोष निर्माणका लागि पूर्व अध्यक्ष विनोद कुँवरले एक हजार एक सय युरो सहयोग गर्ने घोषणा गरे । राहत र उद्धार कोष निर्माणका लागि उच्च नेतृत्वबाट प्राप्त सहयोगले थप उत्साह र हौसला मिलेको अध्यक्ष काफ्लेले बताइन् ।

प्रतिक्रिया