२०८३, २ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

एनआरएनए टी–१० क्रिकेटको उपाधि ‘गोरखा ११’ लाई

0 Shares
Spread the love

भरत प्रधान,लिस्बन। पोर्चुगलमा सम्पन्न युरोपस्तरीय ‘एनआरएनए टी–१० क्रिकेट प्रतियोगिता–२०२६’को उपाधि गोरखा ११ क्रिकेट क्लब पोर्चुगलले जितेको छ ।


गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आयोजनामा सान्तारेमस्थित क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा जिजिरा युनाइटेड क्रिकेट क्लब माल्टालाई सात विकेटले पराजित गर्दै गोरखा ११ ले उपाधि हात पारेको हो। टस जितेर पहिले ब्याटिङ गरेको जिजिरा युनाइटेडले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै ९२ रन बनाएको थियो। ९३ रनको लक्ष्य पछ्याएको गोरखा ११ ले ८.३ ओभरमा लक्ष्य पूरा गर्दै जित आफ्नो पक्षमा पारेको हो।


उपाधिसँगै विजेता टोली गोरखाले ५ हजार ५ सय ५५ युरो (करिब ९ लाख ७५ हजार रुपैयाँ) नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता जिजिराले २ हजार ५ सय ५५ युरो (करिब ४ लाख ४८ हजार रुपैयाँ) नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। भने एनएससीए जर्मनीले तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा जिजिरा माल्टाका मेहबुब अलि उत्कृष्ट खेलाडी घोषित भए । भने जिजिराकै सुरज दरैमगर बेष्ट ब्याट्सम्यान घोषित भए । यस्तै एनआरएनए जर्मनीका आशिष निरौलाले बेस्ट बलरको पुरस्कार प्राप्त गरे।


विजेता र उपविजेता टोलीलाई पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल तथा एनआरएनएका केन्द्रीय र स्थानीय पदाधिकारीले पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए । पोर्चुगलमा पहिलोपटक आयोजना गरिएको उक्त प्रतियोगितामा युरोपका विभिन्न मुलुकबाट गरि सात टोलीको सहभागिता रहेको थियोे । प्रतियोगिता सेप्टेम्बर १४ देखि १६ सम्म सञ्चालन भएको भएको थियोे ।


कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद्का उपाध्यक्ष तिलकप्रसाद गैरे, उपमहासचिव दिपक वली, युरोप संयोजक रोबोट लिम्बू, उपसंयोजक राजकुमार थापा, एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनी, एनआरएनए पोर्चुगलका संस्थापक अध्यक्ष पूर्णबहादुर हमाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। संघका अध्यक्ष बम बहादुर जि.सि को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संघका प्रवक्ता नवराज घर्तीमगरले गरेका थिए ।

प्रतिक्रिया