काठमाडौं । नेपाली काँग्रेसका राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले देश सोचेको जस्तो सहज स्थितिमा नरहेको बताउनुभएको छ ।
बुधवारको राष्ट्रिय सभा बैठकमा नेता सिटौलाले देश सामान्य हिसावले सोचेको जस्तो नरहेको बताउनु भएको हो । उहाँले रुस युक्रेन युद्धमा फसेका नेपालीहरुलाई स्वदेश फर्काउने कुरामा सबै राजनीतिक दलहरु सत्तालाई छोडेर एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।
नेता सिटौलाले सत्ता आफ्नो ठाउँमा छोडेर देशको हितका लागि काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सधैँ आफूले भनेको नै हुन्छ भन्ने घमण्ड राख्नु नहुने पनि बताउनुभयो ।
‘अहिले प्रधानमन्त्रीले विश्वासको मत लिँदै हुनुहुन्छ, हामी अध्यक्षज्युलाई बधाई दिँदैछौँ । बडो संयोग जुटेको छ । एउटै पार्टीको एउटा नेता विश्वासको मत लिँदै हुनुहुन्छ र अर्को यता बधाई थाप्दै हुनुहुन्छ । एउटा संयोग परेको छ । म के आग्रह गर्न चाहन्छु भने तपाईलाई पनि र प्रधानमन्त्रीज्युलाई पनि देश तपाईं हामीले सोचे जस्तो सजिलो ठाउँमा छैन । हामीले सोचेको जस्तो सजिलो तरिकाले हाम्रा विचारमा सधैँ लागू हुन्छन् भनेर अहंकार कसैले नगरे हुन्छ । मैले भनेपछि त्यही कुरा लागू हुन्छ भन्नेकुरा नसोचे हुन्छ । समय त्यति सजिलो छैन ।’ नेता सिटौलाले भन्नुभयो ।
नेता सिटौलाले श्रमिकका समस्या समग्र रुपमा समधान गर्नुपर्ने बताउनुभयो । उहाँले देशमा बेरोजगारीको अवस्था विकराल हुँदै गएको समेत बताउनुभयो ।