२०८३, ४ बैशाख शुक्रबार
×

ट्रेन्डिङ

कांग्रेसले विवादित जिल्लाका प्रतिनिधिलाई आमन्त्रितका रूपमा महासमिति बैठकमा सहभागी गराउने

0 Shares
Spread the love

काठमाडौँ । नेपाली कांग्रेसले विवादित जिल्लाका प्रतिनिधिलाई आमन्त्रितका रूपमा जारी महासमिति बैठकमा सहभागी गराउने भएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले महासमिति सदस्यको निर्वाचन नभएको, सर्वसम्मत हुन नसकेका निर्वाचन क्षेत्रबाट १४ औं महाधिवेशनका लागि निर्वाचित भएकाहरूलाई आमन्त्रित सदस्यकारूपमा सहभागी गराउने निर्णय गरेको हो।

बारा क्षेत्र नम्बर ३, पर्सा क्षेत्र नम्बर १, सोलुखुम्बु, खोटाङ, धादिङ क्षेत्र नम्बर १, दोलखा, ओखलढुंगा, काठमाण्डौ क्षेत्र नम्बर ५ मा महासमिति सदस्य टुंगो लागेको थिएन।

त्यस्तै, दाङ क्षेत्र नम्बर ३, कञ्चनपुर क्षेत्र नम्बर १, बाग्लुङ क्षेत्र नम्बर २, सिन्धुली क्षेत्र नम्बर २ को पनि प्रतिनिधित्व टुंगो लागेको थिएन।

सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले त्यहाँबाट आमन्त्रित प्रतिनिधिको रूपमा सहभागी गराउने निर्णय गरेको छ।

त्यस्तै पार्टीको १४ औं महाधिवेशन पश्चात् केन्द्रीय महाधिवेशन सम्पन्न गरेका वा नेतृत्व परिवर्तन भएका तपशील बमोजिमका भ्रातृ संघ एवं शुभेच्छुक संस्थाहरूका हकमा अध्यक्ष सहित तीन जना महासमिति सदस्यको रुपमा सहभागी गराउने निर्णय पनि गरेको छ।

नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरूण दल, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल किसान महासंघ, नेपाल थारू संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल मुस्लिम संघबाट तीन जना प्रतिनिधित्व गराइने निर्णय भएको हो।

यस्तै नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन, सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ, नेपाल प्रेस युनियनबाट पनि त्यसैगरी प्रतिनिधित्व गराइएको छ।

१४ औं महाधिवेशन पश्चात अधिवेशन सम्पन्न गरेका विदेश स्थित नेपाली जनसम्पर्क समितिको हकमा विधान बमोजिम महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

प्रतिक्रिया