
काठमाडौं । बालुवाटारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँडबारे छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए भने माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए ।
नेताहरुबीच प्रदेशहरुको मतभारको आधारमा गठबन्धन गर्ने गरी छलफल भएको बुझिएको छ । कुन प्रदेशमा कुन पार्टीको मतभार कति छ भन्ने विश्लेषण भएको नेताहरुले बताएका छन् ।
राष्ट्रपतिबाट मनोनितसहित २० जना राष्ट्रियसभा सदस्यको पद रिक्त हुने भएपछि माघ ११ गते चुनाव तोकिएको छ ।
२० सिटमध्ये कांग्रेसले कम्तिमा दश सिट आफूले पाउनु पर्ने अडान सत्ता गठबन्धनमा राखेको छ । निर्वाचनका लागि यही पुस २३ गते मनोनयन दर्ता गर्ने तालिका छ ।