२०८३, २४ श्रावण आईतवार
×

ट्रेन्डिङ

आफ्नै जिल्लाका सभापतिको अभिव्यक्तिले देउवा चिन्तित !

2511 Shares
Spread the love

हेटौंडा । कांग्रेस जिल्ला सभापतिहरूको जारी राष्ट्रिय भेलामा १३ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई सघाएकाहरू पनि उनीविरुद्ध खनिएका छन् ।

पौडेल र सिटौलापक्षीय सभापतिहरूले नेतृत्वको तीव्र आलोचना गरिरहेका बेला देउवानिकट जिल्ला नेताहरू नै उनी विरुद्ध उभिएका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

मंगलबारबाट सुरु भेलामा बिहीबार देउवानिकट स्याङ्जा जिल्ला सभापति कमल पंगेनीले सर्वसत्तावाद र अधिनायकवाद लाद्‌न कम्युनिस्टहरू उद्यत रहे पनि त्यसलाई रोक्‌न कांग्रेस नेतृत्व कमजोर सावित भएको आरोप लगाए । उनले नेतृत्वको विरोध वा आलोचना नभई ‘समालोचना’ गरेको दाबी गरे ।

‘नेतृत्व गर्नेको आलोचना हुनु स्वाभाविक हो तर हामीले समालोचना गरेका छौँ,’ उनले भने, ‘यो आरोप–प्रत्यारोपभन्दा पनि पार्टीलाई सुदृढ बनाउन जाहेर भएको चासो र चिन्ता हो ।’

देउवा पक्षकै भनेर चिनिएका ललितपुर सभापति मदन अमात्य, डडेलधुरा सभापति कर्ण मल्ललगायतले पनि सभापतिको कडा शब्दमा आलोचना गरेका छन् । उनीहरूले पार्टीमा निषेधको राजनीति गरेको, सबैलाई नसमेटेको, टिकट वितरणमा गल्ती भएको, संसद्मा बलियो भूमिका निभाउन नसकेको र समसामयिक राजनीतिक, सामाजिक मुद्दामा समेत कमजोर देखिएको आरोप लगाएका छन् ।

काठमाडौं जिल्ला सभापति कृष्ण (सबुज) बानियाँले ‘आसेपासे’ का कारण सभापति कमजोर बन्दै गएको बताए । ‘सभापति व्यक्तिको पछाडि लाग्नु भएन, काम गर्नेको मूल्यांकन हुनुपर्‍यो भन्ने सुझाव राखेको छु,’ उनले भने, ‘नजिकका मान्छेलाई बलियो बनाउने क्रममा तपाईं कमजोर हुनुभएको छ, बलियो बन्नुस् ।’ उनले कोही–कसैप्रति लक्षित गरेर आरोप–प्रत्यारोप नगरेको दाबी गर्दै पार्टीलाई संस्थागत गर्ने उद्देश्य मात्र रहेको बताए ।

सिन्धुलीका सभापति उज्ज्वल बरालले पार्टीका सबै नेताको आलोचना भए पनि सभापतिलक्षित बढी भएको बताए । ‘जिम्मेवारीमा हुनेकै आलोचना हुने हो तर सभापतिलाई नै लक्षित गरेर बढी भएको छ,’ बरालले भने, ‘पार्टी एक तर नेताको मन अनेक भएकाले यो भेलाले एकताबद्ध भएर अघि बढ्न प्रेरणा दिन्छ ।’

रामेछाप सभापति लवश्री न्यौपानेले भने नेतृत्वको आलोचना हुनु स्वाभाविक भएको तर्क गरे । ‘आन्तरिक छलफलमा नेतृत्वको आलोचना हुनु स्वाभाविक हो,’ उनले भने, ‘माया गर्नेलाई गाली गर्ने पनि अधिकार हुन्छ ।’

भेलामा अधिकांश जिल्ला सभापतिले हारको जिम्मेवारी लिनुपर्ने भन्दै नेतृत्वलाई दोष दिइरहेका छन् । सभापति देउवाको बढी आलोचना भएको छ । धादिङ सभापति रमेश धमलाले भेलापछि नयाँ कार्यक्रमसहित जाने दाबी गरे ।

‘हामी जनतासँग कांग्रेससहितको नयाँ कार्यक्रम लिएर जान्छौं,’ उनले भने, ‘भेलामा आरोप–प्रत्यारोप मात्रै भएको छैन, यो भेलाले एउटा निष्कर्ष पनि दिन्छ ।’ तीन दिन चलेको भेलाले हेटौंडा घोषणापत्र जारी गर्दै छ ।

प्रतिक्रिया