२०८१, १३ जेष्ठ आईतवार
×

ट्रेन्डिङ

८४ को निर्वाचनमा गठबन्धन हुन सक्दैन, गठबन्धन गरे कांग्रेस एक रहँदैन : गगन थापा

0 Shares

काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी निर्वाचनमा गठबन्धन गरेर गए कांग्रेस एक रहन नसक्ने चेतावनी दिएका छन्।

नेपाल प्रेस युनियन काठमाडौंले बिहीबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा थापाले ८४ को निर्वाचनमा गठबन्धन हुन नसक्ने भन्दै यदि कांग्रेस गठबन्धन गरेर गए पार्टी एक नरहने बताएका हुन्।

थापाले निर्वाचनपछि गठबन्धन गर्न सकिने र सरकार चलाउन गठबन्धनमा रहेका मध्ये एकलाई निश्चित समय एक्लै चलाउन दिनुपर्ने बताए। निर्वाचनअघि गठबन्धन गरेर जानु सैद्धान्तिक रुपमा नै गलत भएको उनले बताए।

गठबन्धनमा रहेपछि संयुक्त निति तथा कार्यक्रमका आधारमा सरकार चल्नुपर्नेमा त्यसो हुन नसकेको दाबी गरे। थापाले गठबन्धनमा रहेकै कारण सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउन विदा दिने कुरा कांग्रेसले स्वीकार गर्न नसक्ने बताए।

त्यस्तै उनले कोशी प्रदेशको राजनीतिक परिघटनापछि बागमती प्रदेशमा पनि सरकार फेर्नुपर्ने र कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै सांसदहरु आफूलाई भेट्न आएको बताए।

थापाले अहिलेको अवस्थामा कांग्रेसले आफैंतिर फर्केर नेता कार्यकर्ता तथा जनताको असन्तुष्टिलाई सम्बोधन गर्न सच्चिएर जानुपर्ने बताए। आगामी महासमिति बैठकको मञ्चलाई कुण्ठा भन्दा पनि पार्टीको कमि कमजोरीलाई सुधार गर्न केन्द्रीत हुनुपर्ने उनले बताए।

प्रतिक्रिया