
काठमाडौं, असोज १४ गते । नेपाली कांग्रेसका नेता रञ्जीत कर्णले ‘नेपाली कांग्रेस रुपान्तरण अभियान’को ब्यानरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रमप्रति असहमति व्यक्त गरेका छन्। नेता कर्णले एजेन्डाका आधारमा रुपान्तरण अभियान अघि बढेको बताउँदै कार्यक्रमप्रति असहमत रहेको प्रस्ट पारेका हुन्।
कर्णले नेपाली कांग्रेस रुपान्तरण लागि देशभर कार्यक्रम गर्दै आएको बताउँदै संगठन सुदृढीकरण गर्दै विधानसम्वत र समयसापेक्ष अगाडि बढाउनु पर्छ भन्ने मान्यतामा आफू दृढ रहेको भनाइ राखेका छन्।
‘ढोँगी, चाकडी र चाप्लुसी हाम्रो अभियानको उद्देश्य होइन । तर रुपान्तरण अभियानको नाममा कहीँकतैबाट अभियानलाई कमजोर बनाउने उद्देश्यले असोज १४ गते आइतबार राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रमप्रति मेरो पूर्ण असहमति छ,’ उनले भने ।
नेता कर्णले नेपाली कांग्रेस रुपान्तरण अभियानको दोस्रो चरणको कार्यक्रम देशभरि पार्टीका वैधानिक समिति, निकायमार्फत सञ्चालन गरिने सहमति नेताहरूसहित रुपान्तरण अभियानकर्ताबीच भएको बताए। उनले रुपान्तरण अभियानकर्ताबीचको सहमति अनुरुप वडादेखि केन्द्रसम्म पार्टीका वैधानिक समितिको आयोजनामा हुने कार्यक्रममा पूर्ण साथ, समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेता कर्णले नेपाली कांग्रेसलाई सुदृढ गर्न अघि बढाइएको रुपान्तरण अभियानलाई कमजोर बनाउने गतिविधिप्रति सचेत रहन पनि आग्रह गरेका छन् ।