२०८०, ९ आश्विन मंगलवार
×

ट्रेन्डिङ

‘जनउत्तरदायी शासन प्रणाली प्रवर्द्धन गर्न नवीन चिन्तन आवश्यक’

0 Shares

काठमाडौँ, असोज १ गते । राजनीतिज्ञ, वरिष्ठ प्रशासक, व्यवस्थापनविद् एवं न्याय क्षेत्रका अगुवाहरूले नेपाली समाजलाई अनुसन्धानात्मक र स्तरीय विचार र चिन्तनका माध्यमबाट अझ परिष्कृत बनाउनुपर्ने बताउनुभएको छ ।

प्रशासन, व्यवस्थापन र विकास केन्द्र (कामाद) ले काठमाडौँ शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राजनीतिज्ञ र प्रशासन क्षेत्रका विज्ञहरूले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन, खुला शासकीय प्रबन्ध र जनउत्तरदायी शासन प्रणालीलाई प्रवर्द्धन गर्न नवीन चिन्तन र चेतनामार्फत जागरण ल्याउनुपर्ने बताउनुभएको हो ।

निजामती सेवाका उच्च पदस्थ अधिकारीहरूको संस्था कामादले २५ वर्षदेखि प्रकाशन गरिरहेको कामाद जर्नललाई परिष्कृत र परिमार्जन गरी अझैस्तरीय, पठनीय, सङ्ग्रहणीय बनाउने उद्देश्यका साथ वरिष्ठ प्रशासन तथा व्यवस्थापनविद, लेखक, समालोचक, अनुसन्धानकर्मी तथा प्राज्ञिक व्यक्तित्वबाट रचनात्मक सुझाव सङ्कलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना हो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले नेपालको प्रशासनिक र प्राज्ञिक वृत्तमा कामाद जर्नलको छुट्टै नाम र पहिचान रहेको बताउनुभयो । उहाँले कामाद जर्नलले नेपाली समाजमा अनुसन्धानात्मक र स्तरीय विचार तथा लेखरचना सम्प्रेषण गरी प्रजातान्त्रिक, खुला शासकीय प्रबन्ध र जनउत्तरदायी शासन प्रणालीलाई प्रवर्द्धन गर्न सहयोग पुर्‍याएको बताउनुभयो ।

जर्नलका प्रधान सम्पादक डा. प्रदीपप्रसाद उपाध्याय र पूर्व सम्पादक जीवराज कोइरालाले कामादको विगतदेखि वर्तमानसम्मको विकास क्रमलाई संयुक्त रूपमा प्रस्तुत गर्नुभयो । कामादका पूर्व सम्पादक डा. हिरामणि घिमिरेले कामाद पत्रिकाको गुणस्तर र पहुँच वृद्धि तथा बजार व्यवस्थापन लगायतका विषय तथा भावी कार्यदिशाबारे प्रस्तुति राख्नुभयो ।

लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीले कामाद पत्रिका प्रशासन र व्यवस्थापन विषयमा अध्ययन गर्न चाहने सबैका लागि ज्ञानवद्र्धक पत्रिका रहेको बताउँदै यसलाई समयको परिवर्तनसँगै थप परिष्कार र परिमार्जन गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनालीले कामाद पत्रिकामा पुराना लेखकका साथै नयाँ पुस्ताका लेखक तथा अनुसन्धानकर्मीहरूलाई प्रोत्साहित गर्नुपर्ने र उनीहरूका नवीन विषयका शोधमूलक लेखरचनाहरूलाई पनि समेट्दै अघि बढ्न उपयोगी हुने सुझाव दिनुभयो ।

नेपाल सरकारका पूर्व मुख्यसचिव डा. बिमल कोइरालाले पच्चीस वर्ष यात्रा पार गरिसकेको कामादले नेपाली पत्रिका जगतमा एउटा प्रतिष्ठा आर्जन गरिसकेको बताउनुभयो । उहाँले यसलाई आगामी दिनमा अनुसन्धानमूलक वा फिचर आर्टिकल वा दुवैको मिश्रित स्वरूप के कस्तो रूपमा लैजानुपर्ने बताउनुभयो ।

पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यले कामाद जर्नल बौद्धिक समुदायमा एउटा प्रतिष्ठित पत्रिका रहेको कुरा बताउँदै यसलाई अनलाइनमा लैजान र आगामी दिनमा थिमाटिक अङ्क र फिचर आर्टिकल अङ्क गरी दुई किसिमले प्रकाशन गर्नुपर्ने सुझाव दिनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेल, सचिव केवल भण्डारी, पूर्वसचिव शारदाप्रसाद त्रिताल, यामकुमारी खतिवडा लगायतले अध्ययन अनुसन्धानमार्फत नेपाली समाजलाई अझै परिष्कृत र समयसापेक्ष समुन्नत बनाउन सकिने बताउनुभयो ।

अन्य वक्ताहरू कामाद जर्नल प्रशासनिक तथा व्यवस्थापन क्षेत्रमा अध्ययन, अनुसन्धान गर्ने सबैका लागि अत्यन्त उपयोगी पाठ्यसामग्री रहेको बताउँदै यसलाई आगामी दिनमा पनि निरन्तरता दिएर अनलाइनमा लैजानुपर्ने, यसको पहुँच तथा पाठक समूह बढाउनुपर्ने, पत्रिकामा नयाँ लेखकका नयाँ र समसामयिक विषयलाई समावेश गर्नुपर्ने लगायतका रचनात्मक सुझावहरू दिनुभयो ।

कामादका सचिव दिव्यराज पोखरेलका अनुसार कार्यक्रममा विभिन्न संवैधानिक अङ्कका अध्यक्ष तथा सदस्यहरू, नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिव तथा पूर्व सचिवहरू, राजपत्राङ्कित विशिष्ट श्रेणीका पदाधिकारीहरू, पूर्व राजदूतहरू, प्राध्यापक तथा निजामती एवं सार्वजनिक सेवाका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कामाद संस्थाका अध्यक्ष डिल्लीप्रसाद शिवाकोटीको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा कामादका सम्पादक समूहका सदस्य मनोज आचार्यले स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभयो ।

प्रतिक्रिया