काठमाडौं । नेकपा (एमाले) का सांसद गोकुल बास्कोटाले सरकारले २३ क्वीन्टल सुन बाहिर पठाएको सूचना आफूसँग रहेको दाबी गर्नुभएको छ ।
एक क्वीन्टल सुन समाएजस्तो गरेर सरकारले करिव २३ क्वीन्टल सुन बाहिर पठाएको उहाँको जिकिर थियो । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बास्कोटाले सो एक क्वीन्टल सुन समात्नु नौटंकी थियो वा के कारणले समातियो ? भन्नेकुरा उच्चस्तरीय जाँचबुझ आयोगले बाहिर ल्याउने भन्दै आफूहरु त्यसको प्रतिक्षामा रहने समेत बताउनुभयो ।
उहाँले सत्तापक्षलाई सत्यको पक्षमा उभिन तर स्टन्टबाजी नगर्न पनि चेतावनी दिनुभयो । पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई जेल पठाउनेसम्मको अभिव्यक्ति सत्तापक्षबाट आएको उल्लेख गर्दै सांसद बास्कोटाले त्यस्ता खालको लल्कार्ने र तर्साउने काम नगर्न सचेत गराउनुभयो । उहाँले जनताको विश्वासको जगमा उभिएका ओलीमाथि अपमान गरिए सैह्य नहुने बताउनुभयो ।
सांसद बास्कोटाले सरकारले सत्यको पक्षमा उभिन तागत राख्नुपर्ने बताउनुभयो ।