
बिराटनगर । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच आलोपालो नेतृत्व गर्ने मोडेलमा कोशीको मुख्यमन्त्रीको सहमति हुने देखिएको छ । शीर्ष नेताहरूले केन्द्रमा माओवादीले नेतृत्व गरेको र ठुलो पार्टीको हिसाबले मुख्यमन्त्रीमा कांग्रेसको दावी स्वभावीक रहेकोले पहिलो २ बर्ष कांग्रेसलाई दिने र बाँकी समय माओवादीले नेतृत्व गर्ने करीब टूँगिएको प्रचंड निकट केंद्रीय नेताले बताए ।
मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि कोशीमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासहितको गठबन्धनले नयाँ सरकार बनाउने कसरत गरिरहेका छन्। आइतबार मात्रै प्रदेश प्रमुख पर्शुराम खापुङले असार २१ गते अपरान्ह ५ बजेसम्म समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।
नयाँ सरकार गठनका लागि शीर्ष नेताहरूसँग छलफल गर्नका लागि काठमाडौं पुगेका प्रदेशका नेताहरूका अनुसार कांग्रेस र माओवादीले मुख्यमन्त्रीमा अडान लिए पनि सहमतीय संस्कृति अनुसार जाने सबैको भावना रहेकोले सरकार गठन हुने र राप्रपालाई पनि सामेल गराई सरकार बनाईने बताईएको छ । त्यसक्रममा माओवादीले संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई र कांग्रेसले दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउनुपर्ने अडान राखेकोमा पहिलो चरणमा थापा र दोस्रो चरणमा आङ्बो मुख्यमन्त्री बन्ने पक्का भएको छ ।
‘कांग्रेसबाट उद्वव थापा मुख्यमन्त्री बन्ने कुरा टुंगिएको ,’ कांग्रेसका एक केन्द्रीय नेताले भने, ‘हामीले उद्धवजीलाई बनाएर जाउँ भन्ने प्रस्ताव गरेका छौं।’
ती नेताका अनुसार माओवादीले आङ्बोको र एकीकृत समाजवादी र जसपा पनि गठबन्धनको मर्मअनुरूप चक्रीय मोडेलमा कांग्रेसलाई साथ दिएकोले सहमति बनिसकेको नेताहरूको बुझाई छ ।
कांग्रेस उच्च स्रोतका अनुसार दुई दिनयता केन्द्रका दोस्रो तहका नेताहरू र प्रदेशका नेताहरूबीच विभिन्न चरणमा छलफल भइसकेको छ। त्यसक्रममा राप्रपाले माओवादीलाई भन्दा बिचारमा कांग्रेस नज़िक रहेकोले कांग्रेसलाई समर्थन गर्ने शन्देश पठाएको दाबी गरेको छ।
कांग्रेसले केन्द्रीय सरकारमा आफूले दिएको साथलाई आधार बनाएर प्रदेशमा धेरै अडान नलिन माओवादीलाई भनेको छ।
‘कृष्णप्रसाद सिटौलाले जसरी पनि उद्धव थापालाई मुख्यमन्त्री बनाउनुपर्छ भन्ने अडान लिएको देखिन्छ’, कांग्रेससँगको छलफलमा सहभागी गठबन्धन प्रदेशका एक नेताले भने, ‘यदि थापालाई अघि सार्दा राप्रपा आएन भने पनि हाम्रो ४७ पुग्छ। त्यसैले पहिलो पटक थापालाई मुख्यमन्त्री बनाएर जाउँ भन्ने उहाँहरूको कुरा छ।’
कोशीमा नयाँ सरकार बनाउने पहल गरिरहेको गठबन्धनसँग राप्रपाबाहेक पनि ४७ मत छ। यो संख्या ९३ सदस्यीय प्रदेशसभामा बहुमत हो। तर, सभामुखसहितको यो संख्याले भविष्यमा कानुनी र संवैधानिक झमेला ल्याउने खतरा रहेको भन्दै राप्रपालाई गठबन्धनमा ल्याउने पहल चलिरहेको छ।
सभामुखसहितको ४७ सिट भएको गठबन्धनमा ६ सिट भएको राप्रपा मिसिए बलियो बहुमत पुग्ने भन्दै राप्रपालाई प्रदेश प्रमुखले आह्वान गरेको मितिमै कांग्रेसले पनि साथै लिएर जानुपर्ने अडान कांग्रेसको छ।
‘राप्रपासँग हामी नियमित संवादमा छौं’, आइतबार कांग्रेस नेता उद्धव थापाले भनेका थिए।
कोशी प्रदेशको नयाँ सत्ता गठबन्धनसँग सहकार्यमा जाने कि नजाने भन्ने निर्णय लिने जिम्मा राप्रपाले अध्यक्ष राजेन्द्र लिङदेनलाई दिएको छ। लिङ्देनले कुराकानीमा ‘आफूहरूलाई प्रदेशबारे धेरै चासो नरहेको र झापाका हस्तिलाई प्रदेश प्रमुख बनाउन सकारात्मक हुने’ प्रतिक्रिया आइतबार दिएको मीडियाले लेखेका छन।
कोशीमा पुनः संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन हुने भएपछि दलहरूले छलफललाई तीव्रता दिएका हुन्। प्रदेश प्रमुख खापुङले महान्यायाधिवक्ताको राय लिएर दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न भनेका छन्। उनले संविधानको धारा १६८ को उपधारा २ अनुसार उक्त आह्वान गरेका हुन्।
विभिन्न चरणमा छलफल गरिसकेका दलहरूले सोमबारबाट शीर्ष तहका नेतासँग छलफल हुने बताएका छन्। उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितका नेतालाई भेटेर सरकार गठनबारे छलफल गरेका छन।