काठमाडौं । देशका विभिन्न भागमा निर्धारित सबै कार्यक्रमहरु रद्ध गरेर प्रधानमन्त्री शेरवहादुर देउवा डडेल्धुरा आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रीत हुने भएका छन् । उनी कात्तिक २९ गते मंगलबार विहान काठमाडौंबाट डडेल्धुरा जाने कार्यक्रम तय भएको छ ।
समाचारअनुुसार, आफ्नो निर्वाचन क्षेत्रमा प्रतिष्पर्धीहरुबाट चुनौति थपिएको विश्लेषणका आधारमा देउवा सबैतिर छाडेर त्यता जान लागेका हुन् । स्रोतका अनुसार, प्रधानमन्त्रीको डडेल्धुरा बसाइ अब मौन अवधि शुरु हुन्जेलसम्म हुनेछ । ‘उहां मंसीर १ गते सांझमात्र काठमाडौं फर्किने कार्यक्रम छ,’ सैनिक स्रोतले भन्यो । मंसीर २ गतेबाट मौन अवधि शुरु हुँदैछ । प्रधानमन्त्री देउवा आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रीत हुँदा अन्यत्र तय भएका कार्यक्रमहरुमा पार्टीका अरु नेतालाई जान भनेर उनले नै आदेश दिएका छन् ।
देउवाको निर्वाचन क्षेत्रबाट देउवाकै पूर्व सहयोगी कर्ण मल्ल नेकपा एमालेको समेत सहयोगमा नेपाली कांग्रेस विपी नामको पार्टीबाट चुनावी प्रतिष्पर्धामा छन् ।