२०८१, ६ असार बुधबार
×

ट्रेन्डिङ

राजनीतिक परिवर्तन र कांग्रेस संसदीय दलको नेता बनाउन मलाई जिताउनुस् : गगन थापा

2131 Shares

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाले मतदाताले राजनीतिक बदलाव खोजेको बताएका छन्।

मंगलबार काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवार भेटघाट कार्यक्रममा बोल्दै थापाले राजनीतिक परिवर्तन र कांग्रेस संसदीय दलको नेताको रूपमा आफू उम्मेदवार बन्नका लागि पनि यस क्षेत्रका जनताले आफूलाई मत दिनुपर्ने बताएका हुन् ।

‘मतदाताले राजनीतिक नेतृत्वको बदलाव खोजेका छन्। यो पटक कुनै पनि ठूलो राजनीतिक दलको संसदीय दलको निर्वाचन हुने अवस्था छैन,’ उनले भने, ‘यदि निर्वाचन भयो भने नेपाली कांग्रेसमा मात्रै हुन्छ। कांग्रेसमा पनि यस क्षेत्रबाट चुनाव जितेर यहाँको प्रतिनिधि संसद्मा पुग्यो भने मात्र हुन्छ। त्यसका लागि मेरो प्रस्तावक विश्वप्रकाश शर्मा झापाबाट निर्वाचित भएर पनि आउनुपर्छ।’

राजनीतिक नेतृत्व परिवर्तन गर्न नै संसद्मा आफ्नो उपस्थितिलाई जनताले सुनिश्चित गर्न आवश्यक रहेको उनको भनाइ छ।

गठबन्धन दलले निर्वाचन परिणामपछि पनि सहकार्यको आवश्यकताबारे स्पष्ट पार्दैै नेता थापाले राजनीतिक शक्ति एकै ठाउँमा उभिने अवस्था परिस्थितिले सिर्जना भएको बताए।

‘५ वर्ष अघिल्लो वाम गठबन्धनलाई सरकार सञ्चालन गर्न जनताले म्याण्डेट दिएर पठाएको भए पनि तत्कालीन नेकपा आफ्नै कारणले सकिएर नयाँ परिस्थिति निर्माण हुन पुग्यो,’ उनले भने, ‘ठूलो पार्टी भत्किएको समयमा कांग्रेसलाई फाइदा हुन्छ भन्ने थाहा पाउँदापाउँदै पनि यो संसदीय यात्रा बलियो बनाउन माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादी एकै ठाउँमा उभिएको छ।’

जनतालाई राजनीतिक दलप्रति आशा जगाउन पनि नयाँ निर्वाचनको परिणामपछि गठबन्धनकै सरकार रहिरहनुपर्ने र अहिलेको नाजुक आर्थिक दलदलबाट देशलाई निकाल्ने दायित्व पनि राजनीतिक दलकै रहेको थापाको भनाइ छ ।

‘जनतासँग गरेका वाचा पूरा गर्न नसक्दा जनताको आक्रोश सडकमा आयो भने जुनसुकै शक्ति पनि बढारिन सक्छ,’ उनी भन्छन्, ‘५ वर्षका लागि मत मागेका छौँ तर गठबन्धन ५ वर्षसम्म टिक्नुपर्छ। निर्वाचन पछाडि पनि मिल्नुको विकल्प छैन। जनजीविकाको विषयलाई सम्बोधन गर्न आवश्यक छ।’

मंसिर ४ को निर्वाचनपछि बहुमत आए पनि यसपछिको चुनौतीको सामना गर्न गठबन्धनभित्रका दल तयार हुनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया