काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसलाई अहंकार नदेखाउन चेतावनी दिएका छन् । उनले अहंकार देखाए कांग्रेसलाई ठेगान लगाउने बताएका छन् । ‘माओवादीले बडो मिहिनेत गरेर कांग्रेसको प्रधानमन्त्री बनायो तर अहंकार गर्यो भने हामीले एमालेलाई जस्तै कांग्रेसलाई ठेगान लगाउन नपरोस्,’ पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बुधबार काठमाडौंमा प्रशिक्षण दिने क्रममा दाहालले भने, ‘कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता छ ।’
स्थानीय निर्वाचनमा १ सय २१ पालिकामा नेतृत्व जितेको माओवादीले ३ सय २९ पालिका जितेको कांग्रेसलाई चेतावनी दिनुको राजनीतिक कारण के हो त ? माओवादी नेता हरिबोल गजुरेलले यसको कारण निर्वाचनको परिणाम नै भएको बताए । तालमेल भएका स्थानमा माओवादीलाई कांग्रेसबाट न्यून मत आएको उनको भनाइ छ । ‘पैंचो लिएपछि तिर्नुपर्दैन ? हामीले कांग्रेसलाई इमानदारीपूर्वक मत दियौं,’ उनले भने, ‘धेरै ठाउँमा कांग्रेसबाट मत आएन, हामीले हार्यौं । त्यही कुरा अध्यक्षले बुधबार प्रशिक्षणमा व्यक्त गर्नुभएको हो ।’ गजुरेलले निर्वाचन परिणामबाट पूर्ण सन्तुष्ट हुने ठाउँ नरहेको बताए ।
माओवादीका अर्का एक नेताले भने स्थानीय निर्वाचनबाट माओवादी निर्णायक पार्टीका रूपमा प्रस्ट देखिएकाले संघ र प्रदेशको निर्वाचनमा सिट बाँडफाँटका सन्दर्भमा दाहालले कांग्रेसलाई सम्झाएको बताए । ‘गठबन्धन र तालमेलमा कांग्रेस इमानदार होस् भनेर अध्यक्षको ध्येय हो,’ उनले भने । बृहत्तर हितका लागि अझै पनि गठबन्धन आवश्यक रहेको तर गठबन्धनमा थप सुधार जरुरी रहेको उनको भनाइ छ ।
प्रशिक्षणका क्रममा दाहालले कांग्रेस नेतृत्वको गठबन्धनमा आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै त्यसलाई हल्का रूपमा नलिन आग्रह गरे । ‘यो गठबन्धन लिएरै जाने हो । संविधान, लोकतन्त्र, राष्ट्रियता रक्षाका निम्ति गठबन्धन गरेको हो । कांग्रेसमा अहंकार नआओस्,’ उनले भने । दाहालले अहंकार देखाउनेविरुद्ध माओवादीले सधैं विद्रोह गर्दै आएको उल्लेख गरे । स्थानीय निर्वाचनको तालमेल पूर्ण रूपमा नभए पनि मूलभूत रूपमा भने सफल भएको उनको भनाइ थियो । ‘हामीले धेरै ठाउँमा आफ्नो पार्टीभन्दा गठबन्धनमा भरोसा गर्यौं । त्यसो गर्दा हामीले धेरै ठाउँमा गुमायौं,’ उनले भनेका थिए, ‘गठबन्धन भनेजस्तो भएन । महानगर र उपमहानगरमा निकै बल गरेर गठबन्धन भयो । तल गएपछि हामी बलियो भएको ठाउँमा के कांग्रेस के एमाले के विप्लव सबै मिलेर माओवादीलाई हराउने प्रयास गरियो ।’
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने दाहालको अभिव्यक्तिलाई गम्भीर रूपमा नलिएको बताए । ‘उहाँले बेला मौकामा बोल्नुहुन्छ, त्यसलाई गम्भीर रूपमा लिनु आवश्यक छ जस्तो लाग्दैन । स्थानीय तह निर्वाचनमा उहाँको पार्टीले पनि गडबड गरेको छ, हामीबाट पनि भएका हुन्,’ उनले भने, ‘ती घटनालाई अपवादका रूपमा बुझ्नुपर्छ । आगामी निर्वाचनमा पनि गठबन्धन जान्छ ।’ उनले दाहालको अभिव्यक्तिलाई ‘बार्गेनिङ’ का लागि पनि भन्न नसकिने बताए । ‘पार्टीभित्रका बैठकमा उहाँहरू कहिलेकाहीँ यस्ता कुरा बोल्नुहुन्छ,’ उनले भने, ‘सर्वदलीय बैठकमा कसरी निर्णय हुन्छ, त्यो महत्त्वपूर्ण हो । समग्रमा सर्वदलीय बैठकमा स्थानीय तहको परिणामलाई लिएर सबैले सन्तोष व्यक्त गरेका छन् ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ १२ मा प्रतिनिधिसभामा दिएको अभिव्यक्तिलाई लिएर पनि माओवादी अध्यक्ष दाहालले असन्तुष्टि जनाएका हुन् । ओलीलाई लक्ष्य गर्दै दाहालले भने, ‘मुखले जे भने पनि, भाषणमा जे भने पनि मन त रोएकै छ भन्ने थाहा पाइन्छ । एमाले अहिले चैनमा छ त ?’ ओलीले स्थानीय तह निर्वाचन प्रचारका क्रममा ‘माओवादी वैशाख ३० गतेपछि गुगलमा मात्रै भेटिने’ भनेर दिएको अभिव्यक्ति उल्लेख गर्दै दाहालले भने, ‘अहिले त गुगलमा होइन, पूरा शक्तिका साथ उनीहरूका अगाडि खडा छ माओवादी ।’
स्थानीय तह निर्वाचनपछि ओलीले आत्मसमीक्षा गर्ने ठानेको तर त्यसो नभएको दाहालको भनाइ थियो । ‘अस्ति तपाईंले सुन्नुभयो यतिका धेरै भइसकेपछि त एमालेको मूल नेतृत्वमा चेतना आयो होला, अलिअलि आत्मसमीक्षा गर्ने चेतना भयो होला भन्ठानेको त ३ घण्टा अरूलाई गाली गरेको छ,’ उनले भने, ‘हामी कसैको बैसाखी टेक्दैनौं माओवादी जस्तो भन्ने ? मैले पनि भन्नै पर्यो तिमी कसको बैसाखी टेकेर दुईचोटि प्रधानमन्त्री भएका थियौ ? आफ्नो अनुहार ऐनामा हेर्न परेन ?’
२०७४ को निर्वाचनमा राष्ट्रिय हित र कम्युनिस्ट आन्दोलनका लागि पार्टी नै एकता गर्दा त्यसको दुरुपयोग भएको दाहालको भनाइ थियो । ‘हामी बृहत्तर राष्ट्रिय हित, कम्युनिस्ट आन्दोलनका निम्ति भनेर केही कुरा गर्छौं, अवसरवादीहरूले त्यसलाई दुरुपयोग गरिदिन्छन् । हामी राष्ट्रको आवश्यकता, संविधान र लोकतन्त्रको आवश्यकता भनेर गठबन्धन बनाउँछौं तर बुर्जुवाहरूले यसलाई गलत ढंगले लिन्छन्,’ उनले भने, ‘हिजो राम्रो उद्देश्यका साथ एमालेसँग गठबन्धन र पार्टी एउटै बनाएका थियौं । तर नेतृत्वमा यति धेरै अहंकार आयो कि हामी त्यसविरुद्ध विद्रोह गर्नुपर्ने ठाउँमा पुग्यौं ।’
माओवादी अध्यक्ष दाहालले सत्ता गठबन्धनभित्र फरक ढंगले प्रस्तुत हुने संकेत गरेका छन् । ‘गठबन्धन अझै पनि कायमै छ कायमै रहन्छ तर गठबन्धनभित्र हाम्रो संघर्षको स्वरूप बदल्नुपर्ने देखिएको छ,’ उनले भने, ‘पहिला हामीले आफ्नै शक्तिमा भरोसा गर्नुपर्ने र त्यसपछि मात्र गठबन्धन बनाउनुपर्नेमा गठबन्धन पहिलो भन्ने सोच्यौं ।’
माओवादीले पालिका प्रमुख र उपप्रमुखलाई राजधानीमा बोलाएर राजनीतिक प्रशिक्षण दिएको हो । माओवादीले अघिल्लो स्थानीय निर्वाचनमा भन्दा १५ पालिका बढी यसपालि जितेको छ ।