२०८३, २९ कार्तिक शनिबार
×

गोरखामा कांग्रेसले एक्लै चुनाव लड्ने

3948 Shares

काठमाडौँ – आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले गोरखामा एक्लै चुनाव लड्ने भएको छ। आइतबार जिल्ला कार्यसमितिको बैठकले वैशाख ३० गते हुने निर्वाचनमा एक्लै लड्ने निर्णय गरेको कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।

‘सत्ता गठबन्धनमा रहेका अन्य दलका केही साथीहरूको महत्वकांक्षा र राजनीतिक अपरिपक्कताका कारण गठबन्धन टिकेन,’ बैठकपछिको पत्रकार सम्मेलनमा उनले भने, ‘त्यसैले अन्य दलहरूसँग तालमेल नगरी एक्लै चुनाव लड्ने निर्णय कांग्रेसले गरेको हो ।’ शनिबार बसेको गठबन्धनको संयन्त्र बैठकमा पनि दलहरूले आ–आफ्नो हिसाबले चुनाव लड्ने निर्णय गरेका थिए ।

चुनावी तालमेलका लागि आफूहरू हदैसम्म लचिलो भए पनि अन्य पार्टीहरू आआफ्नो अडानबाट पछि नहटेपछि गठबन्धनबाट बाहिरिन बाध्य भएको न्यौपानेले बताए।

‘केन्द्रीय समितिले बनाएको नीति अनुसार २०७४ सालको स्थानीय तह चुनावमा जुन दलले जहाँ जितेको छ, जसको मतभार बढी छ त्यही उसको रहने र बाँकीमा संगठनको अवस्था हेरेर सिट बाँडफाँट गर्ने भन्ने थियो,’ उनले भने, ‘त्यही नीतिलाई टेकेर हामीले यसअघिको चुनावमा जितेको ९ पालिका र ४५ वडा माग्यौं, माओवादीले ६ पालिका दाबी गर्‍यो र जनता समाजवादी पार्टीले तीन वटा पालिका माग्यो, त्यसमा हामी लचक भएर सात पालिकासम्म झर्‍यौँ तर उहाँहरूले त्यति लचकता नदेखाएपछि गठबन्धन टुटेको हो।’

प्रतिक्रिया