धनगढी, चैत ९ गते । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. अरजु राणा देउवाले नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले अस्तव्यस्त बनाएको देश कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि ट्रयाकमा आएको बताएकी छन् ।
नेपाली काँग्रेस कैलालीको कार्यक्रममा मंगलबार धनगढीमा कार्यकर्ता सम्बोधन गर्दै नेतृ राणाले ओलीले दुईतिहाइको सरकार समेत चलाउन नसकेको बताएकी हुन् । उनले देउवाले सबैलाई मिलाएर देश सही दिशामा अगाडि बढाएको दावी गरिन् । डा. राणाले भनिन्, ‘जनताले दुईतिहाइ दिएर सरकारको नेतृत्व दिएको थियो, जनताको मतको रक्षा गर्न नसक्दा अन्तिममा कांग्रेसले सम्हाल्नु पर्ने अवस्था आयो ।’
सबै विचारलाई मिलाउन सक्ने क्षमता भएर नै देशको कार्यभार कांग्रेसको काँधमा आएको उनले बताइन् ।
सबै विचारलाई समेटेर लैजान खुबी कांग्रेसकै मात्र भएर धैर्य भएर अबको निर्वाचनमा एकजुट भई जनमत सिर्जना गर्न सबैलाई आग्रह गरिन् । भर्खरै कैलालीको जिल्ला कार्यसमितिमा नयाँ टिम आएकोले धेरै जिम्मेवारी काँधमा आएको बताउँदै डा. राणाले तीन तहकै निर्वाचनमा आफ्ना उम्मेदवार जिताउन लाग्न आग्रह गरिन् । नयाँ टिमलाई नयाँ जोशका साथ कार्यकर्तामाँझ एजेन्डा लिएर जान उनले अनुरोध गरिन् ।