काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले संविधान स्वीकार गर्ने दलहरुका बीचमा हुने निर्वाचनमुखी गठबन्धनलेमात्रै देशलाई उपलब्धी दिन नसक्ने बताएका छन् ।
राजनीतिशास्त्री समाजद्वारा काठमाडौँको पीके क्याम्पसमा बुधबार आयोजित ‘नेपालको वर्तमान राजनीतिक परिस्थितिमा दलीय गठबन्धनको औचित्य’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले निर्वाचनमुखी गठबन्धनलेमात्रै देशलाई उपलब्धी दिन नसक्ने बताएका हुन् । ‘चुनावमुखी गठबन्धनले चुनावमा जिताउनमात्रै काम गर्छ। निर्वाचनमुखी गठबन्धनले देशलाई उपलब्धी दिन सक्दैन।’ नेता पौडेलले भने ।
जनता र नजजिविकासम्बन्धी साझा एजेन्डा निर्माण गर्ने गठबन्धन मुलुकका लागि आवश्यक भएको उनको भनाइ थियो । ‘विचार, विषयसँग सामिप्यता भएको समाजवाद प्राप्ति र जनताका साझा एजेन्डा निर्माण गर्ने गठबन्धन आवश्यक छ,’ पौडेले भने ।
२०७४ को निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थिरतका निम्त भनेर गठबन्धन गरेको भन्दै उनले चुनाव जितिसकेपछि ओली अत्यन्तै अस्थिर बनेको स्मरण पनि गरे ।
‘चुनाव जित्नका लागि केपी ओलीले स्थिरताका निम्ति भनेर गठबन्धन गर्नुभयो। चुनाव जितेपछि उहाँ जत्ति अस्थिर कोही भएन,’ पौडेलले भने, ‘त्यस्तो गठबन्धन गर्नुहुँदैन। स्थिरताको पक्षमा देखिने गठबन्धन हुनुपर्छ ।’