२०८३, २९ कार्तिक शनिबार
×

ओलीको बोलीमा कांग्रेस प्रवक्ताको जवाफ : कमेडियनको हाँसीमजाक धेरै भयो

1365 Shares

सल्यान : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व राज्य सञ्चालनमा असफल भैसकेको बताएका छन् ।

सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकाको शंखमूलमा निर्मित शंखपार्कको आइतबार उद्घाटन गर्दै महतले ओलीमा काम गर्ने हैन, ठट्टा गर्ने बानी रहेको बताएका हुन्।

महतले ओलीले शनिवार प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई ‘एमालेको चुनाव चिन्हमा मतदान गरेर पुण्य कमाउन’ दिएको उपदेशको जवाफमा कमेडियनको हाँसिमजाक धेरै भएको टिप्पणी गरे ।

‘राजनीति गर्ने मान्छेहरु देशको समृद्धि र जनताको सुख तथा सुविधालाई केन्द्रमा राख्ने हुनाले सधै गम्भीर हुन्छन्। तर उहाँले हास्य कलाकारको जस्तो हसिमजाक बनाउनुभयो,’ उनले भने, ‘शासन सत्ता सञ्चालन गर्न तपाई र तपाईँको पार्टी असफल भयो। ५ बर्षलाई दिएको जनादेश साढे ३ बर्ष पनि टिकाउन सक्नु भएन।’

ओलीले आफू प्रधानमन्त्री हुँदा प्राप्त गरेको झण्डै दुइतिहाईको समर्थन जोगाएर राख्न नसकेको, आफ्नै पार्टीलाई एकताबद्ध राख्न नसकेको र दुइतिहाईको समर्थन कायम रहँदा त्यसको दुरुपयोग गर्दै प्रतिनिधिसभा विघटन गरेकाले संविधानको रक्षा गर्न, देशमा कानूनी शासन बहाली गर्न, सुशासन कायम गर्न कांग्रेस अग्रसर हुनुपरेको उनको भनाइ थियो।

महतले अघिल्लो चुनावमा निकै आकर्षक नारा दिएर जनतालाई झुक्याएर जिते पनि कम्युनिस्ट सरकारले जनताको हितमा काम गर्न नसकेको जिकिर गरे। ‘देश र जनताको हितमा काम गर्न नसक्ने र मुलुकलाई नेतृत्व दिन नसक्ने असफल पार्टीलाई फेरि ल्याउने भनेको विकास चाहिएन भन्ने अर्थ लाग्छ। विकास भएन भने हामी गरिबै रहन्छौ। पिछडिएको अवस्थामा रहन्छौं। त्यसैले आउने चुनावमा तीनै तहमा नेपाली कांग्रेसका प्रतिनिधिलाई मत दिनुहोस्,’ उनले भने।

कांग्रेसले नै मुलुकमा रहेका विभिन्न जातजातिका भाषा, भेषभूषा, संस्कृति, परम्परा र धर्मको संरक्षण गर्ने दाबी गर्दै उनले कांग्रेस फोस्रा आश्वासन दिन नजान्ने र जे गर्न सकिन्छ, त्यही भन्ने भएकोले अघिल्लो निर्वाचनमा कम्युनिस्ट पार्टीप्रति आकर्षित हुँदा जनतालाई धोका भएको बताए।

ओलीले नेतृत्व गरेको पार्टीबाट अलग भएर बनेका दलहरुले आग्रह गरेपछि कांग्रेसको नेतृत्वमा सरकार बनेको उल्लेख गर्दै कांग्रेसको नेतृत्वमा सरकार बनेपछि मुलुकमा भ्रष्टाचार हुन छोडेको, कारोना महामारीबाट जनतालाई जोगाउन पर्याप्त खोपको बन्दोबस्त भएको, बन्दाबन्दी र निषेधाज्ञा हटेर जनजीवन सामान्य भएको पनि बताए।

‘घरघर जाऔं, नेपाली कांग्रेस जिताऔ’ अभियानअन्तर्गत जनताका गुनासा सुन्न र नेपाली कांग्रेस पार्टी, यसको नेतृत्वमा बनेका तीन तहका सरकारहरुले गरेका कामको बारेमा सबै नागरिकलाई बुझाउन हरेक घर पुग्न जिल्लाका नेता तथा कार्यकर्तासँग आग्रह गरे।

प्रतिक्रिया