२०८३, २९ कार्तिक शनिबार
×

एमाले धुन्धुकारी प्रवृत्तिबाट ग्रस्त रहेको झलनाथ खनालको आरोप

742 Shares

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले प्रमुख प्रतिपक्षी नेकपा एमाले धुन्धुकारी प्रवृत्तिबाट ग्रस्त रहेको आरोप लगाएका छन् ।

बुधबार संसद् बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्री खनालले सो कुरा गरेका हुन् । उनले जनप्रतिनिधिमूलक संस्था संसद् बन्धक बनाएर एमालेले धुन्धुकारी प्रवृत्ति देखाएको बताए ।

उनले भने – ‘संसद् जनता र राष्ट्रका आवाज तथा जनताका विभिन्न समस्याहरू उठाउने, जनताका ढुकढुकी प्रतिविम्बित गर्ने, राष्ट्रका अत्यन्त महत्वपूर्ण नीति, कार्यक्रम, ऐन, कानुन तथा सङ्कल्पहरू निर्माण गर्ने थलो हो तर यो थलोलाई नै बन्द गरेपछि, बन्धक बनाएर राखेपछि राष्ट्र कसरी चल्छ रु’

उनले थपे – ‘यो राष्ट्रलाई चल्न नदिने अराजकताको खाडलतर्फ लाने यो एकप्रकारको धुन्धुकारी प्रवृत्ति हो । यो प्रवृत्तिबाट प्रतिपक्षी पार्टी ग्रस्त छ ।’

एमाले संसद्को मर्यादालाई समाप्त पार्ने ठाउँमा पुगेको बताउदै खनालले एमाले तर्क, शक्ति, बौद्धिकता, मर्यादा र संवैधानिकता सकिएपछि बल प्रयोगमा लागेको बताए ।

प्रतिक्रिया