नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु हुदै गर्दा विभिन्न पदमा उम्मेदवारीको घोषणा गर्ने क्रम बढ्दो छ । सो क्रममा नेपाली कांग्रेसकी युवा नेतृ तथा नेपाल विद्यार्थी संघकी महामन्त्री उर्मिला थपलियाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।
थपलिया दुई दशक बढीदेखि कांग्रेसको राजनीतिमा क्रियाशील छिन् । नेपाल विद्यार्थी संघको उपाध्यक्ष र महामन्त्री समेत भइसकेकी छिन् । एक दशक अघि उनी महासमिति सदस्यसमेत बनेकी थिइन् । उनी धादिङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन् । यसपटक उनले महिला खुला कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सोच बनाएकी छिन् । नेताहरुसँग सरसल्लाह गरेर यस बारेमा टुंगो लगाउने उनको योजना छ ।
वाल्यकालदेखि नै कांग्रेस नेपाल विद्यार्थी संघ(नेविसंघ)को राजनीतिमा सक्रिय उर्मिला थपलिया राम्रो संभावना बोकेकी महिला नेतृ हुन । धादिङको निलकन्ठ उच्च माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्दा नै स्कुल इकाइको उपाध्यक्ष भएकी उनी यतिबेला नेविसंघको केन्द्रीय महामन्त्रीका रुपमा काम गरिरहेकी छन् । विद्यार्थी हक हित साथै नागरिक अधिकार प्राप्तीका आन्दोलनहरुमा अग्रमोर्चामा देखिने गरेकी थपलिया नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यकी प्रत्यासी हुन ।
नेविसंघको धादिङ जिल्ला कार्य समिति सदस्य, जिल्ला कोषाध्यक्ष, जिल्ला सचिब साथै काठमाडौं विश्वभाषा क्याम्पसमा स्ववियू सचिब, नेविसंघको केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्षको समेत भूमिका निर्वाह गरिसकेकी उनले अब पार्टीको सक्रिय राजनीतिमा आफ्नो समय व्यथित गर्ने योजना सुनाउँछिन् ।
नेविसंघको राजनीतिक आन्दोलनक्रममा र २०६२/०६३ को जनआन्दोलनमा उनी पटकपटक प्रहरी गिरफ्तारीमा परेकी थिइन् । पार्टी र समाजमा चलायमान बनाउन ईच्छाशक्ति भएको नेतृत्व आवश्यक हुने हुँदा प्रतिनिधिहरुले सो अनुसारको नेतृत्व चयन गर्नेमा उनी आशावादी छन् ।
उनी भन्छिन्, ‘अवसर पाएमा प्रमाणित गर्ने ठाउँमा म पुग्ने छु । महाधिवेशन प्रतिनिधिहरुले मलाई केन्द्रीय समितिमा अवसर दिनुहुने छ ।’