लण्डन । एनआरएनए युकेको आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी दिपक श्रेष्ठले मंगलबार आफ्नो उम्मेदवारी घोषणा गर्ने भएका छन ।
मंगलबार साँझ साढे ६ बजे एक भर्चुअल कार्यक्रममार्फत आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गर्न लागेको श्रेष्ठले बताए ।
‘बेलायतस्थित नेपाली समुदायका अग्रज, संघसंस्थाका प्रतिनिधि, एनआरएनए अभियन्ताहरु र संचारकर्मीहरु साक्षी राखेर मैले आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गर्दैछु’, श्रेष्ठले भने, त्यही अवसरमा मैले आम सदस्यहरुमाझ आफ्ना एजेन्डा र प्रतिबद्धताहरु पनि सार्वजनिक गर्नेछु ।’
एनआरएनए युकेको आगामी नेतृत्वका लागि एक सशक्त दाबेदारका रुपमा मैदानमा आएका छन श्रेष्ठ ।एनआएनए इंग्ल्याण्डको वर्तमान कार्यसमितिमा अध्यक्ष रहेका उनले आफ्नो क्रियाशिलताबाट धेरैको मन जितेका छन ।
यसअघि सन २०१५-१७ मा मुछेत्र गुरुङको कार्यकालमा कोषाध्यक्षका रुपमा श्रेष्ठले निभाएको भूमिकाबाट पनि उनलाई एनआरएनए युके वृत्तमा चर्चा र लोकप्रियता दिलाएको थियो ।
श्रेष्ठले एनआरएनएबाहेक बुद्ध फाउन्डेसन युके, कपिलवस्तु समाज युकेसहितका संस्थाको सम्हालिसकेका छन भने बेलायत तथा नेपालस्थित कयौं सामाजिक संस्थामा आबद्ध रहेर परोपकारी कार्यहरुमा पनि निरन्तर सक्रिय रहंदै आएका छन् ।
