काठमाडौँ – एनआरएनए अमेरिकाको नवनिर्वाचित कार्य समितिलाई सपथ ग्रहण गर्नबाट रोक्न खोजेको भन्दै एनआरएनएका केन्द्रिय उपाध्यक्ष सोनाम लामाले महासचिव हेम राज शर्मालाई हप्काएका छन्।
भर्चुएल माध्यमबाट बिहीबार बसेको एनआरएनएको पदाधिकारी (ओबी) बैठकमा शेर्पाले गत जुलाई ३ मा एनआरएनए राष्ट्रिय समन्वय परिषद अमेरिकाको सपथ ग्रहण रोक्न तिकडम गरेको भन्दै महासचिव शर्मालाई केन्द्रिय अध्यक्ष तथा अन्य पदाधिकारीकै सामु हप्काएका हुन्।
‘ रबिना बहिनी र म दुइ दुइ जना उपाध्यक्ष हुँदाहुँदै तपाईंले अर्को उपाध्यक्ष बद्रि केसीलाई अमेरिका किन पठाउनु भयो? बेलायतमा एकपक्षीय निर्वाचन समिति गठन गरेर किन ताण्डव मच्चाएको ?” भन्दै उपाध्यक्ष लामाले प्रश्न गरे पछि शर्माले आफु त्यस्तो काममा सामेल नभएको स्पष्टीकरण दिएका थिए। उनले उपाध्यक्ष लामालाई आफ्नो शब्द फिर्ता लिन भने पछि लामाले आफ़्नो भनाइ कुनै हालतमा फिर्ता नलिने बताए।
शपथ ग्रहण रोके पछि सुनील शाहको कार्य समितिलाई नै डेलिगेट्स छान्न जिम्मा दिने योजना महासचिव शर्मा र उपाध्यक्ष केसीको थियो ।
तर एजीएममा भाग लिन अमेरिका पुगेका उपाध्यक्ष केसी सभास्थलमा विवाद शुरु हुन अघि नै अन्यत्र लागेका थिए।
सुनील शाह सो योजना कार्यान्वयन गर्न असफल भए पछि अहिले शर्मा पक्षले उनको आलोचना गर्दै न्यूयोर्कमा भएको भाडभैलोका लागि एनआरएन अमेरिकाका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा. केशव पौडेल माथि दोष लगाउने प्रयास गरिरहेको छ।
३१ जुलाई भित्र एनसीसीहरुको अधिवेशन तथा चुनाव भै सक्नु पर्ने भएकाले उपाध्यक्ष केसी तथा महासचिव शर्माले अधिकांश एनसीसीहरुमा आफुखुसी निर्वाचन समिति गठन गर्ने, डमी उम्मेदवारहरू उठाउने, डेमोक्रयाटहरुलाई आपसमा भिडाउने जस्ता रणनीति अपनाइ रहेका छन्। स्मरणीय छ, आफुलाई डेमोक्र्याट बताउने शर्माले नेकपा ओली समूह निकट उपाध्यक्ष केसीसंग साँठगांठ गरी आइएलओ भ्रस्टाचार काण्डलाई गुपचुप पार्न प्रयास गरिरहेका छन्। युएइमा आइएलओ परियोजनामा गरिएको लाखौं रकम घोटालाको विवरण सार्वजनिक भए पछि केन्द्रिय कोषाध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनसमेत केसी र शर्माले सार्वजनिक गर्न नदिएको संघका एक पदाधिकारीले बताए ।
जुलाई ८ को बैठकमा मध्यपूर्व क्षेत्रका क्षेत्रीय संयोजक प्रविण गुरुङ तथा उपक्षेत्रीय संयोजक मनोज गोर्खालीले केन्द्रले मध्यपूर्वमा कसैलाई काखा कसैलाई पाखा गरेको भन्दै कडा विरोध गरेका थिए। बैठकमा सहभागी एक पदाधिकारीका अनुसार कहिँ लागू नगरिएको ‘सेल्फी सिस्टम’ युएइमा सदस्य बनाउन लागू गरिंदा हजारौं नेपालीहरु सदस्य बन्नबाट वन्चित भएका गोर्खालीले आपत्ति जनाएका थिए। । करिब १५,००० सदस्य बनाउने लक्ष लिएकोमा ‘सेल्फी सिस्टम’ का कारण जम्मा १,८८७ सदस्य मात्र बनाउन सम्भव भएको गोर्खालीले बताए। केन्द्रिय अधिवेशनमा डेलिगेट्सको संख्या घटाउन सदस्य बनाउने प्रक्रिया जटिल बनाएको आरोप पनि उनले लगाएका थिए।
यसैबीच गत डिसेम्बर महिनामा सम्पन्न विशेष अधिवेशनद्वारा पारित विधानको हवाला दिंदै केन्द्रिय समिति गठन गर्न प्रतिनिधिहरुको छनोट राष्ट्रिय समन्वय परिषदको निर्वाचनको मनोनयनको मिति भन्दा पहिले भइसकेको हुनु पर्ने भन्ने गलत व्याख्या गर्दै महासचिवले एनसीसीहरुलाई पत्र पठाए पछि अहिले संघ भित्र त्यसको व्यापक विरोध भै रहेको छ। केन्द्रिय अध्यक्षलाई समेत गुमराहमा पारेर सन् २०२१ मा हुन गैरहेको अन्तर्राष्ट्रिय महाधिवेशनका लागि सन् २०२१ मै निर्वाचित एनसीसी पदाधिकारीहरु डेलिगेट हुन नपाउने भन्ने आसयको पत्र शर्माले पठाएका थिए । शर्माकै व्यवहारका कारण आइसीसी सदस्यहरु परराष्ट्र मन्त्रालय गुहार्न पुगेको र अहिले सर्वोच्च अदालत जाने तयारी गरिरहेको पनि उपाध्यक्ष लामाले बैठकमा बताएका थिए।