लण्डन । गैर आवासीय नेपाली संघ, बेलायतको अध्यक्ष पदका एक जना उम्मेदवार सुनिल बाबु खड्का ले दुइ कार्यकाल शाखा को उपाध्यक्ष सम्हाली सकेका प्रेम गाहा मगर लाई समर्थन जनाउदै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनि संगै २०१९-२१ को कार्यसमिति मा उपाध्यक्ष को रुप मा काम गरेका पोखरेलले पनि गाहा मगर लाई नै सघा उने जनाएका छन्। वेल्स राज्यको राजधानी कार्डिफमा बसोबास गर्ने पोखरेल नेपाली समाज वेल्सका पूर्व अध्यक्ष हुन् भने एनआरएनए, राज्य समन्वय परिषद वेल्सका संस्थापक अध्यक्षसमेत हुन् ।
लामो समयदेखि बेलायत स्थित नेपाली समुदायको हित र सेवामा सक्रिय पोखरेलसँग गरिएको कुराकानी :
गैरआवासीय नेपाली संघ बेलायत भित्र रहेर संस्थाको सुधारका लागि के कस्ता प्रयास गर्नुभयो ?
गैरआवासीय नेपाली संघ बेलायतलाई सम्पूर्ण बेलायतवासी नेपालीहरुको साझा संस्थाको रुपमा विकास गर्दै संस्थालाई जनमुखी, पारदर्शी एवं विधि र विधानअनुरुप चल्ने स्वच्छ अभिभावक संगठनको रुपमा प्रत्येक नेपालीको आशाको केन्द्र बिन्दुको रुपमा बिकाश एवं स्थापित गर्ने हाम्रो प्रयास हो । हामी यही अभियानमा नै छौं ।
यसलाई तपाईंहरुले अभियानको संज्ञा दिनु भएको छ, के हो यो अभियान ?
गैरआवासीय नेपाली संघ बेलायतलाई एक पवित्र सामाजिक संस्थाको रुपमा स्थापित गर्दै यस संस्थालाई सबल र सक्षम बनाउँदै सामाजिक परोपकारी संस्थाको रुपमा चिरपरिचित गराउने हाम्रो प्रमुख अभियान हो।
एनआरएन यूकेमा देखिएको आर्थिक अनियमितताको कुरा के हो ?
बेलायतको एनआरएनमा भए गरेका विभिन्न गतिविधिहरु तमाम सदस्य तथा शुभ चिन्तकहरुले नजिकबाट नियालिरहनु भएको छ। एकातिर संस्थाभित्र आर्थिक अपारदर्शितादेखि विधि र विधानअनुसार जिम्मेवारीपूर्ण कार्य सम्पादन हुन नसकेको गुनासो घाम जस्तै छर्लंग छ भने अर्कोतिर संस्थागत पारदर्शिता तथा संगठनात्मक सुदृढीकरणको आवाजले सही सम्बोधन नपाएको जग जाहेर नै छ। त्यतिमात्र होइन, समस्यालाई सही समयमा सही तरिकाले निराकरण गर्न असक्षम हुँदा आर्थिक अपारदर्शिताको मुद्दा बेलायती अदालतसम्म पुगेको तितो अनुभब लुकाएर लुक्दैन। आखिर किन चुक्यो त एनआरएन यूके? के ले छेक्यो जस्ताको तस्तै, निष्पक्ष र स्पष्ट हिसाब किताब बाहिर ल्याउन? यी गम्भीर प्रश्नहरु अनुत्तरित छन्। यी सबै विषय वस्तुहरुलाई आवश्यक सम्बोधन एवं सुधार गर्ने अभियान हो हाम्रो।
कत्तिको सहज छ यो अभियान ?
समस्या छन् । वर्षौंदेखि मौलाउंदै आएको बेथितिहरुलाई निर्मूल पार्न कठोर बलिदानका साथ अगाडि बढ्नु पर्ने हुन्छ। परिवर्तनका लागि गरिएका प्रयासहरु पीडादायी पनि हुन सक्छन् । हामी त्यस्ता पीडा सहन र संस्थागत सुधार एवं समाज परिवर्तन गर्न कटिबद्द छौँ ।
एनआरएन यूकेको अबको बाटो के हुन् सक्ला ?
विगतमा भए गरेका संस्थागत त्रुटीहरुलाई भित्रै बाट केलाउनु पर्छ। संस्थागत त्रुटिहरु हुनाका कारणहरु पत्ता लगाउनुपर्छ। सही तरिकाले अध्ययन तथा अनुसन्धान हुनु पर्छ। त्रुटिहरु भएको महशुस गराउनुपर्छ र जिम्मेवारी लिने वातावरण तय गर्नुपर्छ । भविष्यमा त्यस्ता खालका गलत प्रवृत्तिहरु नदोहोरिने संकल्पका साथ समाज सेवामा अविछिन्न रुपमा लाग्नुको कुनै विकल्प छैन ।
त्यसको अर्थ त्रुटि गर्नेलाई सामान्य माफीको आधारमा उन्मुक्ति दिने भन्न खोज्नु भएको हो?त्यसो होइन । गल्ती गर्नेलाई त्यसको महशुस गराउँदै त्यसका लागि जिम्मेवार तथा जवाफदेही बनाउनु पर्छ भनेको हो।
अलिकति फरक प्रसंग, एनआरएन यूकेमा चुनाव नजिकिँदै छ । तपाईंको भूमिका कस्तो रहन्छ?
गैरआवासीय नेपाली संघ बेलायतलाई सही तरिकाले संस्थागत विकाश गर्दै दीर्घकालिन रुपमा सबल र सक्षम संस्था स्थापित गर्नको खातिर आगामी निर्वाचनमा हाम्रो पूर्ण सहभागिता रहनेछ।
एनआरएन यूकेलाई दीर्घकालिन संस्थागत विकासका लागि तपाईंहरुको मुख्य अजेन्डाहरु के के छन् ?
पक्कै पनि त्यसका लागि हाम्रा केही अजेण्डा छन् । बुँदागत रुपमा भन्नु पर्दा पहिलो त यसलाई वास्तवमै नेपालीहरुको साझा संस्था बनाउने नै हो । नर्दन आयरल्याण्ड, वेल्स, स्कटल्याण्ड हुँदै इंगल्याण्डका सबै क्षेत्रमा क्रियाशील बनाउँदै सबै नेपालीहरुको साझा संस्थाको रुपमा विकास गर्दै सबै नेपालीको अपनत्वको खातिर एकजुट गराउन पहलकदमी लिने हाम्रो पहिलो अजेण्डा रहेको छ ।
दोश्रोमा नेपाली नागरिकताको निरन्तरता र नेपालमा रहेको हाम्रो सम्पत्ति सुरक्षाको लागि बृहत अभियान चलाउने छ भने भूतपूर्व गोर्खा सैनिकहरुको न्याय र समानताको पक्षमा डटेर मुकाविला गर्ने हाम्रो तेश्रो अजेण्डा हो ।
त्यस्तै, गैरआवासीय नेपाली संघ बेलायतलाई आर्थिक रुपमा पारदर्शी, सबल र सक्षम एवं जिम्मेवार संस्थाको रुपमा स्थापित गर्ने, बेलायतस्थित विभिन्न नेपाली संघ संस्थाहरुसंग सामाजिक सम्बन्ध विकास गर्दै गैर आवासीय नेपाली संघसंग सहज रुपमा सहकार्य गर्ने वातावरणको सिर्जना गर्ने अजेण्डा पनि हामीले तय गरेका छौं ।
त्यसैगरी जनहितसंग प्रत्यक्ष सरोकार राख्ने कार्यहरुमा सही रुपमा संस्थागत कोषको परिचालन एवं नेपाली भाषा, कला, साहित्य, संस्कृति, खेलकुद तथा पर्यटन प्रवर्द्धन साथै लगानी एवं विकासका लागि कार्य गर्ने योजना पनि हामीले बनाएका छौं ।
गैरआवासीय नेपाली संघ बेलायतका पूर्वजहरु एवं बेलायती नेपालीहरुको मनोभावना र चाहनाअनुसार नेपाल हाउस प्रोजेक्ट सफल पार्न सक्रिय रुपमा जुट्ने र बेलायती नेपालीहरुका सुखदुखमा साथ, सहयोग र सुझावका लागि गैर आवासीय नेपाली संघ बेलायतको आफ्नै सम्पर्क कार्यालय दीर्घकालिन रुपमा संचालनमा ल्याउन पहल गर्ने योजना हाम्रो छ ।
यी एजेन्डाहरु सफल पार्न कसरी अगाडि बढ्ने सोच्नु भएको छ ?
कुशल नेतृत्वले नै यी योजना कार्यान्वयन गर्न सक्छ । तसर्थ हामी विभिन्न क्षेत्रबाट अनुभवी व्यक्तित्वहरु सम्मिलित एक कुशल नेतृत्व स्थापित गर्ने तयारीमा छौं । हामीले हालका उपाध्यक्ष प्रेम गाहा मगरलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेका छौं । उहाँ दुई कार्यकाल उपाध्यक्ष भइसक्नु भएकोले उहाँसँग अनुभव पनि छ । उहाँले समुदाय राम्ररी बुझ्नु भएको छ र सुधारको अभियानमा पनि सक्रिय हुनुहुन्छ । म पनि पुनः उपाध्यक्षमा उम्मेदवार बन्ने तयारीमा छु ।
यो एउटा साझा अभियान पनि हो। जहाँ सबै क्षेत्रका अनुभवी व्यक्तिहरुको सामूहिक सहभागिता र वृहत बहसका साथ कार्य सम्पादन गरिने छ।
अन्तिममा केही थप्न चाहनु हुन्छ कि ?
हाम्रो उद्देश्य गैरआवासीय नेपाली संघ बेलायतलाई शुद्धीकरण गर्दै जनमुखी संस्थाको रुपमा स्थापित गर्ने हो। बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुबीचको सहकार्यबाट यो संभव हुन्छ । सामाजिक, आर्थिक तथा अत्यावश्यक वैधानिक एवं कानुनी सचेतना वृद्धि गर्दै सही नेतृत्व विकास गर्ने दीर्घकालिन अभियान हो यो। त्यसैले सम्पूर्ण बेलायतबासी गैरआवासीय नेपाली दाजूभाई तथा दिदीबहिनीले हाम्रो यस अभियानमा साथ दिनु हुनेछ भन्नेमा पूर्ण आशावादी छौँ।