२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

संविधान रक्षाका लागि एकजुट हुन देउवाको आह्वान

1043 Shares
Spread the love

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान बमोजिम राष्ट्रपतिले तत्काल आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा त्यसलाई इन्कार गरेको बताएका छन्।

यसको सट्टा अल्पमतमा परिसकेका र बहुमत जुटाउन नसकेका केपी शर्मा ओलीलाई नै निरन्तरता दिइएकोमा देउवाको विरोध छ।

‘मैले प्रतिनिधि सभामा तत्काल कायम रहेका सदस्य संख्याको स्पष्ट बहुमतसहित १४९ जना सांसदहरूको हस्ताक्षरसहित तत्काल प्रधानमन्त्रीमा नियषुक्त गर्नुपर्नेमा त्यसलाई इन्कार गर्नुभयो। बरू एकपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्कोपटक बहुमत देखाउन नसक्ने स्वयम घोषणा गरी सकेका माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम गरिन्,’ देउवाले आज विज्ञप्ति निकालेर भनेका छन्।

गए राति सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै चुनावको मिति घोषणा गरेपछि विपक्षी दलहरूले विरोध गरिरहेका छन्।

संविधानको भावनाअनुसार ओलीले प्रधानमन्त्रीका लागि दावी गर्न नसक्ने प्रष्ट अवस्था हुँदाहुँदै त्यस्तो गैरसंवैधानिक दाबीलाई स्वीकार गरी पुन: उनलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक र अनैतिक पनि भएको उनको भनाइ छ।

संविधानलाई राष्ट्रपति र प्रधानमन्त्रीले निजी सम्पत्तिका रूपमा आफूअनुकूल प्रयोग गरेको भन्दै देउवाले विरोध गरेका छन्।

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने कार्य घोर असंवैधानिक भएको देउवाको भनाइ छ।

साथै देउवाले लोकतन्त्रवादी शक्तिलाई संविधान रक्षाका लागि एकजुट हुन आह्वान गरेका छन्।

गणतन्त्र, संविधानको रक्षा गर्न राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक तथा अलोकतान्त्रिक कार्यका विरूद्ध राजनीतिक र न्यायीक लडाइँ लड्ने प्रतिवद्धतासमेत देउवाले जनाएका छन्।


प्रतिक्रिया