लण्डन । बेलायतमा रहेका नेपाली पत्रकारहरुको साझा सस्था नेपाल पत्रकार महासंघ बेलायतमा अधिवेशन नजिकिदै गर्दा विवाद उत्त्पन्न भएको छ ।
महासंघका महासचिव सञ्जयभक्त कँडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ युके शाखाको गत ९ मेमा बसेको पूर्ण कार्यसमितिको भर्चुअल बैठकको निर्णय विपरीत निर्वाचन समितिले कार्यक्षेत्र भन्दा बाहिर गएर नेपाल पत्रकार महासंघ युके शाखा निर्वाचन नियमावली २०२१ जारी गरेको बारे गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
तदर्थ बनिसकेका नेपाल पत्रकार महासंघ युके शाखाका अध्यक्ष नरेश खपांगी मगरको प्रभावमा एकलौटी ढंगले निर्वाचन समितिले क्षेत्राधिकार नाघेर काम गर्न सुरु गरेको र बैठकको म्यान्डेट विपरीत शाखाको पाँचौ अधिवेशनका निर्वाचन कार्यक्रम समेत अध्यक्ष खपांगी मगरको एकल सहमतिमा महासचिव सञ्जयभक्त कँडेललाई समेत थाहै नदिई प्रकाशित गर्नुले पाँचौ अधिवेशन निष्पक्ष हुनेमा आंशका जन्मिएको सो प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पूर्ण कार्यसमितिको बैठकले सर्वसम्मत रुपमा १३ जुनमा महाधिवेशन गर्ने र सोही दिन नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरेको हुनाले । उक्त निर्णय विपरीत षडयन्त्रपूर्वक निर्वाचन प्रमुख आयुक्तले विधानमै नभएको कथित असाधारण अधिकारसहितको नियमावली जारी गरेपछि सार्वजनिक विज्ञप्ती जारी गर्न बाध्य भएको महासचिव कडेलले जनाएका छन् ।
महासंघ युकेको २ पटक कार्यकाल पुरा गरी बाहिरिन लागेका अध्यक्षले बिभिन्न समाजसेवी र संचारकर्मीलाइ सम्मान गर्ने तथा महासंघ युके शाखाको वर्ष पुरस्कार वितरण गरी निर्वाचनलाई प्रत्यक्षरुपमा प्रभाव पार्ने षड्यन्त्रमुलक कार्य गर्न गैइरहेको र निर्वाचनलाई प्रभाव पार्ने र महासंघको गरिमालाई धुमिल पार्ने तथा कब्जा गर्ने योजनामा सहभागी नहुन अग्रज संचारकर्मी तथा वर्ष पुरस्कार छनौट समितिमा रहनुभएका बौद्धिक व्यक्तित्वलाई तत्काल यस कार्यबाट अलग्गै रहन सो प्रेस प्रेस विज्ञप्तिमा अनुरोध गरिएको छ ।
साथै उक्त अनुरोधलाई अस्विकार गर्ने व्यक्तिहरुले यो बिवादको परिणामको भागीदार स्वयम् हुनुपर्ने पनि विज्ञप्ति मार्फत सचेत गराईएको छ ।
अध्यक्ष खपांगी मगरको एकलौटी षडयन्त्रलाई रोक्न विश्वव्यापी निर्वाचन मान्यता बिपरित राखिएको निर्वाचन समितिको अधिकार हटाउन र महासंघ बेलायत शाखाको निर्वाचन निष्पक्ष गराउन हामीले नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष लगायतका पदाधिकारीहरुलाई जानकारी गराईसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
