ओमन । खाडी मुलुकमा कार्यरत नेपाली मजदुरहरुले नेपाल सरकारलाई ५६० थान अक्सिजन सिलिन्डर पठाएका छन् ।
नेपालमा अक्सिजन सिलिन्डरको अभावमा दैनिक सयौंले ज्यान गुमाउनु परिरहेको अवस्थामा खाडी मुलुक यूएई,कतार,ओमन,साउदी अरब,कुवेत, बहराइनमा कार्यरत नेपाली मजदुरहरुले रकम संकलन गरेर नेपाल सरकारलाई अक्सिजन सिलिन्डर पठाएका हुन् ।
खाडी मुलुक अन्तर्गत ओमन अन्तराष्ट्रिय विमानस्थलबाट आज स्थानीय समय अनुसार दिउँसो २:३० बजे ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको उपस्थितिमा नेपाल एयरलाइन्सको वाइड बडी मार्फत अक्सिजन सिलिन्डर नेपाल पठाएका हुन् ।
उक्त परियोजनाको संयोजन एनआरएनए मध्यपूर्वले भएको थियो भने अक्सिजन सिलिन्डर गैर आवासीय नेपाली संघ एनआरएनए एनसीसी ओमनले खरिद गरेको हो।
राजदूत पराजुलीले नेपाल र नेपालीलाई आपत परेको बेला अक्सिजन सिलिन्डर नेपाल पठाउन पाएकोमा खुशी व्यक्त गरिन्। उनले खाडी मुलुकमा कार्यरत सम्पूर्ण नेपाली कामदारहरुलाई धन्यवाद दिँदै एनआरएनए मध्यपूर्वलाई विशेष आभार प्रकट गरेकी थिइन्।
कोरोना महामारीको मुख्य चपेटामा परि अक्सिजन अभावले छटपटाई रहेका परेका नेपाली नागरिकहरुलाई उक्त सहयोगले केही भनेपनि राहत मिल्ने खाडीका मजदुरहरुले अपेक्षा गरेका छन्। उनी हरुले सरकारलाई उपलब्ध गराएको अक्सिजन सिलिन्डर आवस्यकता अनुसार वितरण गर्न सुझाब समेत दिएका छन्।
एनआरएनएले नेपाल अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियानका अन्तर्गत करिब एक हप्ताको अभियानमा ७५ लाख रुपैयाँ भन्दा बढि रकम संकलन गरेर अक्सिजन सिलिन्डर नेपाल पठाएको गैर आवासीय नेपाल संघ आईसीसीका प्रवक्ता डिबी क्षेत्रीले बताए ।
एनआरएनए, मध्यपूर्व उपसंयोजक मनोज गोर्खालीका अनुसार ५६० थान अक्सिजन सिलिन्डर आज नेपाल एयरपोर्ट आइपुग्ने र भोलि नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताए।
अक्सिजन सिलिन्डरको ढुवानीको ब्यवस्था नेपाल सरकार आफैले गरेको हो ।