लन्डन — नेपाल कोभिड १९ को दोश्रो लहरको चपेटामा परिरहंदा राष्ट्रिय आविष्कार केन्द्रले गरिरहेका आपत्कालिन सहायताका कामहरु सघाउन हेल्प नेपाल नेटवर्कले सहयोग संकलन अभियान शुरु गरेको छ।
देशभरि चिकित्सा प्रयोजनका लागि अक्सिजनको अभाव रहेको, पीपीइको अभाव देखिएकाले राष्ट्रिय आविष्कार केन्द्रले रात दिन काम गरिरहेको छ। तर केन्द्रले आर्थिक अभाव व्यहोरी रहेकाले सहयोग संकलन अभियान शुरु गरिएको हेल्प नेपाल नेटवर्क नेपालका अध्यक्ष अरुण सिंह बस्न्यातले भने। संकलित सबै रकम केन्द्रलाई पठाइने पनि उनले बताए ।
केन्द्रले काठमाडौँका विभिन्न अस्पतालमा बिग्रेको अक्सिजन प्लान्टहरु मर्मत गर्न पनि सहयोग गरिरहेको छ।
त्यस्तै सरकारी अस्पतालहरुमा बिरामीहरुको रेकर्ड डिजिटल रुपमा राख्न सघाउन पनि सघाइरहेको छ। कोभिड -१९ संक्रमण शुरु भए यता आविष्कार केन्द्रले सातै प्रदेशका २२५ अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई ५,२०० भन्दा बढी पीपीइ गाउनहरु वितरण गरिसकेको छ।
त्यसैगरी केन्द्रले एरोसोल बक्सहरु बनाएर वितरण गरेको छ भने एमआइटिका अनुसन्धानकर्ताहरुले तयार गरेको एउटा आपत्कालिन भेन्टिलेटरको प्रोटोटाइप विकास गरी परिक्षण गरिरहेको छ। “संकटको समयमा प्रवासमा रहनु भएका सबै गैरआवासीय नेपालीहरु तथा नेपालका मित्रहरुलाई हामी मन खोलेर सहयोग गर्न आग्रह गर्दछौं,” बस्नेतले भने।
सहयोगदाताहरुले यो लिंकमा गएर सहयोग गर्न सक्नु हुनेछ :
https://www.justgiving.com/fundraising/support-henn-for-covid-emergency