२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

एमालेका ६ सांसद्लाई कोरोना संक्रमण प्रधानमन्त्रीलाई विश्वासको मत दिन पाउने सम्भावना कति?

1031 Shares
Spread the love

काठमाडौं, २१ वैशाख – नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनालसहित ६ जना सांसद् कोरोना संक्रमित भएका छन्। वरिष्ठ नेता खनालको उपचार नर्भिक अस्पतालमा भइरहेको छ।

संघीय सरकारका दुई मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकाल र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतो महासेठलाई कोरोना संक्रमण भएको छ।

संघीय सरकारका दुई मन्त्री तीन दिन अगाडि मात्रै मन्त्रीहरू ढकाल र महतोलाई संक्रमण पुष्टि भएको हो। त्यसैगरी, पूर्वमन्त्री रघुवीर महासेठलाई पनि संक्रमण भएको छ।

मन्त्री जुली महतो र महासेठ श्रीमान् श्रीमती हुन्। एमाले नेतृ एवं सांसद् विमला विक र सरिता न्यौपानेलाई पनि कोरोना संक्रमण भएको जानकारी एमालेका प्रमुख सचेतक विशाल भट्टराईले दिएका हुन्।

वरिष्ठ नेता खनालबाहेक बाँकी पाँचै जना अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट सांसद हुन्। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि २७ वैशाखमा प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाइएको छ।

विशेष अधिवेशनको समय नजिकिए पनि संक्रमित सांसद्को संख्या थपिँदै गएपछि संसद् सचिवालय र स्वयं एमाले पनि अन्योलमा परेको नेताहरूको भनाई छ।

संक्रमित सांसद्ले विश्वासको मत लिने बैठकमा भाग लिने पाउने र मतदानमा सामेल गराउनेबारे अन्योल देखिएको हो।

बरु बुधबार सांसद्हरूलाई कोरोना परीक्षणका लागि बोलाइएको छ। संसद् बैठक वैशाख २७ गते दिउँसो १ बजे बस्दैछ।

सभामुख अग्निप्रसाद सापकोटा र संसद् सचिवालयले यसबारे निर्णय लिन सोमबार चिकित्सकहरूको सुझाव लिएको छ। तर, यसबारे कुनै निर्णय लिइएको छैन।

चिकित्सकको सुझावका आधारमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा राखेर दलहरूको सुझाव लिएपछि यसबारे निर्णय लिने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताएका छन्।

संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले संक्रमित सांसद्लाई कसरी सहभागी गराउनेबारे छलफल चलिरहेको बताएका छन्।

पाण्डेले विशेष व्यवस्था गरेर भए पनि प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा सांसद्ले मत हाल्ने व्यवस्था मिलाउनुपर्ने बताएका छन्। ‘त्यसका लागि छलफल चलिरहेको छ,’ पाण्डेले भने, ‘तर, निर्णय चाहिँ भइसकेको छैन।’

प्रतिक्रिया