२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

विपक्षी दलहरूको धर्नाका बाबजुद लुम्बिनी प्रदेशका मुख्यमन्‍त्री शंकर पोखरेलले लिए शपथ

917 Shares
Spread the love

बुटवल । लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले  विपक्षी दलहरूको धर्नाका बाबजुद निवासमै  पुगेर शंकर पोखरेललाई मुख्यमन्त्रीको सपथ खुवाएका छन् । आइतबार  साँझ मुख्यमन्त्रीको निवासमा पोखरेलले सपथ लिएका हुन् ।
प्रदेश प्रमुख यादव सेना, प्रहरीको सुरक्षा घेरामा मुख्यमन्त्री निवास पुगेका थिए ।

दिउँसो मात्र नेपाल कम्युनिस्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै संविधानको धारा १६८ को उपाधार (१) बमोजिम प्रदेश मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरेको जानकारी दिएको हो ।

पोखरेलले आइतबार बिहान संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए ।

नयाँ सरकार बनेको दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाउने संवैधानिक प्रावधानलाई मध्यनजर गर्दै मुख्यमन्त्री पोखरेलले आइतबार राजीना दिएका थिए । राजीनामा लगत्तै आफ्नो पक्षमा बहुमत रहेको जानकारी गराएका पोखरेल पुनःमुख्यमन्त्री बनेका हुन् । अविश्वासको प्रस्तावमाथि मतदान गरेर हटाउने विपक्षीको प्रयासलाई छल्न पोखरेलले यो राजनीतिक खेल खेलेको देखिन्छ ।

प्रतिक्रिया