लण्डन : गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका चारजना उपाध्यक्षहरुले संघमा भएको आर्थिक अनियमितता विरुद्ध वाध्य भएर अदालत जानु परेको बताएका छन् । उनीहरुले समस्यालाई सुल्झाउन पटक पटक प्रयास गर्दा पनि नेतृत्वले अनियमितता ढाकछोप गर्ने प्रयास गरेपछि अदालत जानु परेको स्पष्ट पारे ।
आइतबार भएको भर्चुएल ‘खुल्ला बहस’ मा सहभागी उपाध्यक्षहरु प्रेम गाहा मगर, रामचन्द्र पोखरेल, नारायण कँडेल र मोहन कार्कीले आफूहरुको अभियान संस्थाविरुद्ध नभई संस्थालाई दुरुपयोग गर्नेका विरुद्ध भएको पनि बताए ।
उपाध्यक्ष प्रेम गाहा मगरले बेलायतस्थित नेपाली समुदायले श्रम गरेर समाजसेवाका लागि खर्चेको रकम दुरुपयोग गर्ने विरुद्ध कानुनी लडाईमा जानु परेको बताए । ’हामी सहित पुरानो कार्यसमिति छानविनको दायरामा छ । म स्वयं पनि आर्थिक अनियमितता गर्नेमा परें भने कारवाहीको भागिदार हुनुपर्छ’, उनले भने। “आफ्नै संस्था विरुद्ध मुद्दा हाले भनेर केही व्यक्तिहरुले हल्ला चलाएका छन् । त्यो विल्कुल गलत र भ्रामक कुरा हो । हाम्रो लडाई संस्था विरुद्ध होइन, एनआरएनए युकेलाई दुरुपयोग गर्ने गलत व्यक्तिहरु विरुद्ध हो ,’ उनले भने।
उपाध्यक्ष गाहा मगरले जो नेतृत्वमा आएपनि एउटै व्यक्तिले संस्थामा हालीमुहाली गर्दै आएको भन्दै आगामी दिनमा त्यस्तो सिण्डिकेट तोड्ने प्रतिबद्धता व्यक्त गरे । उनले संस्थामा दुरुपयोग गरिएको रकम संस्थाको खातामा फिर्ता ल्याउने दावी समेत गरे ।
आर्थिक दुरुपयोग रोक्न कानुनी लडाईं
अर्का उपाध्यक्ष नारायण कंडेलले एनआरएनए युकेलाई एक विश्वसनीय संस्थाका रुपमा विकास गर्न र त्यहाँ भएका आर्थिक दुरुपयोग रोक्न कानुनी लडाईंमा जानु परेको बताए । ’बेलायतस्थित नेपाली समुदायले निर्वाचित गरेरै संस्था भित्र महत्वपूर्ण जिम्मेवारी पाएका छौं । त्यहाँ भएको विकृति हटाउन तपाइहरुको साथ चाहिएको छ,’ उनले भने। ’एनआरएनए युकेलाई आर्थिक रुपमा एउटा विश्वसनीय संस्था बनाउने अभियानमा सहयोग गर्नुहोस् ।’ उपाध्यक्ष कंडेलले आर्थिक पारदर्शिताका लागि अभियान चलाउँदा गाली बेइज्जती सहनु परेको गुनासो गरे । उनले संस्थालाई दुरुपयोग गरी समाजसेवाको नाममा पैसा कमाउनेलाई जनता माझ उभ्याई छाड्ने बताए ।
अर्का उपाध्यक्ष रामचन्द्र पोखरेलले एनआरएनए युके संस्थागत रुपमा चल्नै नसकेको बताए । ’निर्वाचित भएपछि पटक पटक आफूहरुले बैठकमा राखेको आर्थिक पारदर्शिताका बिषयलाई कुनै वास्ता नगरिएकाले कानुनी प्रक्रियामा अघि बढनु परेको हो,’ उनले भने, ’आर्थिक पारदर्शिताको एजेण्डा बैठकमा राख्दा अध्यक्ष पुनम गुरुङले तल्लोस्तरमा ओर्लिएर गाली गलौज गरिन् ।’ पोखरेलले कार्यसमितिमा पर्याप्त छलफल गरी निर्णय लिने परिपाटी नरहेको जनाए । कार्यक्रममा उनले विवादको फेहरिस्त नै प्रस्तुत गरेका थिए ।
अर्का उपाध्यक्ष मोहन कार्कीले सदस्यता आवेदन गर्नेको प्रमाणीकरण गर्ने अधिकारसमेत अध्यक्ष गुरुङले आफैसंग राखेर संस्थालाई नियन्त्रणमा राख्न खोजेको आरोप लगाए ।
इंग्ल्याण्ड राज्य समन्वय परिषद् उपाध्यक्ष एलबीजेड गुरुङले संस्थापन पक्षले एनआरएनए युके भित्र आर्थिक पारदर्शिता अपनाउन आनाकानी गरी झुट र भ्रमको खेती गरिरहेको जनाए । त्यस्तै पूर्व उपाध्यक्ष शेर सुनारले एनआरएनए भित्रको आर्थिक घोटलामा संघका केन्द्रिय पदाधिकारीको समेत संरक्षण रहेको आरोप लगाउंदै जवाफ माग गरेका थिए ।
चारैजना उपाध्यक्षहरुले संस्थापन पक्षले विधान विपरीत गठन गरेको आर्थिक अनियमितता छानविन समितिलाई आफूहरुले मान्यता नदिएको बताएका थिए । उनीहरुले आफैले बनाएको छानविन समितिको प्रतिवेदनले आर्थिक अनियमितता देखाएपछि नैतिकताका आधारमा राजीनामा आउनु पर्ने पनि बताए ।
एनआरएनए युके भित्र आर्थिक अनियमितता बिषयको मुद्दा बेलायतको डार्टफोर्ड काउन्टी कोर्टमा विचाराधीन छ ।