लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको २०२१-२०२३ को निर्वाचनमा अध्यक्ष पदमा वर्तमान तिन उपाध्यक्षहरुले उम्मेदवारी दिने भएका छन् ।
यो समाचार तयार पर्दासम्म उम्मेद्वारी घोषणा गर्नेहरुमा सुनिल बाबु खड्का , रोजिना प्रधान राई र प्रेम गाहा मगर रहेका छन् ।
एनआरएनए यूकेको अध्यक्षको उम्मेदवारको रुपमा हेरिएका आइसीसी सदस्य दयानिधि सापकोटा, उपाध्यक्षहरु रामचन्द्र पोखरेल, मोहन कार्की तथा नारायण कँडेल लगायतको प्रस्तावपछि दुई कार्यकाल उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका गाहामगर अध्यक्षका लागि अघि सरेका हुन् ।
तर उनको उम्मेदवारीको औपचारिक घोषणा भने भइसकेको छैन । दुई कार्यकाल उपाध्यक्षका भूमिका निर्वाह गरिसकेका गाहामगर अध्यक्ष पदका बलिया दावेदार हुन् ।
तेस्तै अर्का उपाध्यक्ष एबम च्यारिटी विभाग संयोजक सुनिल बाबु खड्काले आगामी नेतृत्वको दाबी गर्दै अध्यक्षको उम्मेदवारी दिने घोषणा गरेका छन्।
खड्काले बेलायत स्थित प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीमाझ अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
एक विज्ञप्ति जारी गर्दै उनले संघको जुलाइमा हुने नयाँ नेतृत्व चयनका लागि एनआरएन युके अधयक्षको दाबी गर्दै उम्मेदवारी घोषणा गरिसकेका छन् ।
गैरआवसीय नेपाली संघ यूकेकी उपाध्यक्ष तथा संघसंस्था समन्वय विभाग प्रमुख राईले दुई वर्षे कार्यकालमा आफूलाई सामाजिक तथा च्यारिटी क्रियाकलापमा क्रियाशील राखेर पनि अध्यक्ष उम्मेदवारमा अग्रस्थानमा छिन् ।
‘संघमा जिम्मेवारी लिएसंगै मैले केन्द्रदेखि राष्ट्रिय समन्वय समितिमा रहेर संस्थागत कार्यप्रणाली जान्ने बुझ्ने र सामाजिक कार्यमा आफूलाई क्रियाशील गराउन सफल भएं । अग्रजहरुको सुझाव सल्लाह र साथले पनि अध्यक्षको नेतृत्व सम्हाल्न मलाई पूर्ण आत्मविश्वास बढेको छ’, उनले भनिन् ।