२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनआरएनए युएई अध्यक्ष र उपाध्यक्ष निलम्बित

986 Shares
Spread the love

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आइएलओको सहयोगमा संचालित परियोजनामा भ्रष्टाचार गरेको आरोप लागेका एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइराला तथा उपाध्यक्ष पासाङ शेर्पालाई उनीहरुको पदबाट निलम्बन गर्ने निर्णय गरेको छ।

गैरआवासीय नेपाली संघका केन्द्रिय पदाधिकारी (अफिस वियरर्स) हरुको भर्चुएल माध्यमबाट आइतबार बसेको बैठकले एनआरएनए युएई कार्य समितिले गरेको सिफारिस अनुसार अध्यक्ष कोइराला तथा उपाध्यक्ष पासाङ शेर्पालाई उनीहरुको पदबाट निलम्बन गर्ने निर्णय गरेको बैठकमा सहभागी एक पदाधिकारीले बताए ।

मध्यपूर्व तथा मलेसियामा कोभिड–१९ बाट प्रभावित भई रोजगारी गुमाएका नेपाली कामदारहरुलाई राहत तथा स्वदेश फिर्तीमा सघाउन अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ)को सहयोगमा सञ्चालित परियोजनाबारे कार्य समितिलाई जानकारी नदिई काठमाडौँमा खाता खोल्ने, काठमाडौँबाट हुण्डी गरेर पैसा झिकाउने जस्ता काम गरेको भन्दै अध्यक्ष कोइराला तथा उपाध्यक्ष पासांग शेर्पालाई निलम्बन गर्न सिफारिस गरेको थियो।

छानबिनमा पनि दोषी

युएईमा कार्यरत नेपाली कामदारका नाममा अध्यक्ष कोइराला र उपाध्यक्ष शेर्पाले अनियमितता गरेको आरोप लागेपछि आइसीसी सदस्य राजु केसीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त समितिले दुई साताअघि ८४ पृष्ठ लामो प्रतिवेदन आइसीसीलाई बुझाइसकेको छ ।

छानबिन समितिको प्रतिवेदनमा पनि अध्यक्ष कोइराला र उपाध्यक्ष शेर्पालाई दोषी देखाइएको छ । आइएलओ परियोजना अन्तर्गत प्राप्त रकममध्ये उनीहरुले कम्तीमा ६२ हजार दिराम अनियमितता गरेको छानबिन समितिको निष्कर्ष छ । छानबिन समितिले आफ्नो प्रतिवेदनमा प्रमाणहरु पनि समावेश गरेको छ ।

उक्त प्रतिवेदन संघका केन्द्रिय कोषाध्यक्ष महेश श्रेष्ठले नेतृत्व गरेको अर्को समितिले अध्ययन गरिरहेको छ।

गत साता एनआरएनए आइसीसीले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कुमार पन्तले आइएलओ परियोजनामा अनियमितता गरेको पाइए ‘निर्मम’ कारबाही गर्ने बताएका थिए । आइतबारको बैठकमा पनि अध्यक्ष पन्तले आइएलओको सहयोगमा संचालित परियोजनामा अनियमितताका लागि जो कोही पनि दोषी पाइएमा कारबाही गरिने दोहोर्याएका थिए ।

झण्डै चार महिनादेखि सतहमा आएको ‘आइएलओ परियोजना अनियमितता काण्ड’ मा आइसीसीले पहिलो पटक देखिने गरी कारबाही गरेको हो ।

तत्कालका लागि निलम्बन गरिएपनि अब के गर्ने भन्नेमा भने पदाधिकारी बैठकले निष्कर्ष निकालिसकेको छैन ।

वैदेशिक रोजगारमा रहेका नेपाली कामदारको सहयोगार्थ आइएलओले दश करोड रुपैयाँ दिएको थियो । यो परियोजनाको नेतृत्व उपाध्यक्ष डा. बद्रि केसीले गरेका छन् । केसीले यसअघि नै आइएलओलाई प्रतिवेदन बुझाइसकेका छन् ।

परियोजना सञ्चालनबारे विवाद भएपनि आइसीसीमा छलफल नै नगरी आइएलओलाई प्रतिवेदन बुझाएको भन्दै केसीको पनि आलोचना भइरहेको छ ।

उपाध्यक्षकै राजीनामा माग

बैठकमा उपाध्यक्ष केसीले लागेका आरोपहरुबारे छानबिन गरी दोषी पाइए कारबाही गरिने बताएका थिए ।

तर, एनआरएनएका मध्यपूर्व संयोजक प्रवीण गुरुङले युएई भ्रष्टाचार प्रकरणले गर्दा सिंगो एनआरएनको साख माथि नै नराम्रो धक्का लागेको भन्दै छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरे।  उनले उक्त परियोजनामा भएको अनियमितताको छानबिनमा असर पर्न सक्ने भएकाले नैतिकताको आधारमा उक्त परियोजनाका संयोजक तथा केन्द्रिय उपाध्यक्ष डा. बद्रि केसीले पनि आफ्नो पदबाट राजीनामा दिनु पर्ने माग गरे।

उपाध्यक्ष केसीकै निर्देशनमा अनियमितता भएको र केसीले नै अनियमिततामा संलग्नलाई बचाउने प्रयास गरिरहेको कतिपय आइसीसी पदाधिकारी तथा सदस्यहरुको दाबी छ ।

बैठकले विभिन्न एनसीसीहरुमा सदस्यता वितरण कार्यको भेरिफिकेशन गर्न एनसीसीका अध्यक्ष, महासचिव तथा कोषाध्यक्ष लगायत ११ जनासम्म सदस्य रहने गरी समिति बनाउन निर्देशन दिएको छ।  यस अघि एनआरएनएका यूरोप संयोजक नारायण आचार्यले एनआरएनए युकेले सदस्यता भेरिफिकेशनको काम अध्यक्षले मात्रै गरिरहेको भन्ने जानकारी प्राप्त भएको र यदि विवाद उत्पन्न भए आफूले हस्तक्षेप गर्न वाध्य हुने चेतावनी दिएका थिए ।

उपाध्यक्ष मन केसीले सीप,  ज्ञान तथा प्रविधि हस्तान्तरण विभागको रिपोर्ट प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया