लण्डन । चितवन एड ट्रस्ट(क्याट) यूकेले यही अप्रिल २४ तारिखमा भर्चुअल माध्यमबाटै नेपाली नयाँ वर्ष शुभकामना कार्यक्रम गर्ने भएको छ ।
‘नयाँ वर्ष शुभकामना तथा च्यारिटी सांगीतिक साँझ’ मार्फत् चितवनमा निर्माणाधिन अपांगमैत्री पुस्तकालयलाई आर्थिक सहयोग जुटाउने लक्ष्य छ ।
त्यस अवसरमा विश्वभर छरिएका चितवनेलीहरुको प्रतिनिधिमुलक सहभागिता गराइने अध्यक्ष जीवन सेनले बताएका छन् । अपांगमैत्री पुस्तकालय सहयोगार्थ कोष संकलनका लागि क्याट यूकेका च्यारिटी विभाग संयोजक राजेन्द्र सुवेदीलाई संयोजक तोकिएको छ ।
गत आइतबार सम्पन्न कार्यसमिति बैठकले आवश्यकताअनुसार आर्थिक संकलन समिति बिस्तार गर्ने निर्णय गरेको महासचिव टिएन रिजालले जानकारी दिए ।
अपांगमैत्री पुस्तकालयका लागि हुन लागेको च्यारिटी सांगीतिक साँझमा सहभागिता र सहयोगको लागि क्याट यूकेका सचिव उपेन्द्र पौडेलले बेलायतवासी नेपालीमा आव्हान गरेका छन् ।
पुस्तकालयलाई सहयोगको शुभारम्भ गर्दै आर्थिक संकलन संयोजक राजेन्द्र सुवेदीले १२ सय १ पाउण्ड सहयोग गरेका छन् ।
‘नेपाल जर्नी’ नामक संस्थाले भरतपुर महानगरपालिकाले उपलब्ध गराएको जग्गामा करिब ३ करोडको लगानीमा शैक्षिक सामागरी, शारिरिक अभ्यासका सामग्रीहरू समेतको व्यवस्था भएको पुस्तकालय निर्माण गर्न लागेको हो ।
बेलायतका लागि संस्थाका प्रोजेक्ट कोअर्डिन्टर एवम् क्याट यूकेका सल्लाहकार यादव श्रेष्ठ र उनको टीमका राजु आचार्य, विष्णु लामिछाने, खिम गौतम लगायतले परियोजनाको लागि बेलायतबाट सहयोगको समन्वय गरेका छन् ।