लन्डन — गैरआवासीय नेपाली संघ युके गोर्खा विभागले विभिन्न गोर्खा संघ संगठनहरुले नेपाल तथा ब्रिटिश सरकारसंग राखेका १३ बुंदे मागहरूबारे प्रत्यक्ष बहस आयोजना गर्न लागेको छ।
यही शनिबार (२७ मार्च ) दिनको १ बजे भूतपूर्व गोर्खासंग सम्बन्धित १३ बुंदे माग लगायतका विषयमा एक (भर्चुअल) छलफल कार्यक्रम आयोजना गर्न लागिएको गैरआवासीय नेपाली संघ, युकेका उपाध्यक्ष तथा गोर्खा विभागका प्रमुख संयोजक प्रेम गाहा मगरले जानकारी दिए।
“ब्रिटिश सरकारले गरेको भेदभाव र अन्याय विरुद्ध सबै गोर्खा संघसंस्था एकजुट हुनुपर्ने र एउटै आवाज बनाउन जरुरी भएकाले हामीले यो कार्यक्रम गर्न लागेका हौँ। यो कार्यक्रमलाई सफल पार्न र सुझाव सल्लाह दिन सबै अगुवा तथा भूतपूर्व गोर्खा अभियन्ताहरुलाई म आग्रह गर्दछु,” उनले भने।
भूतपूर्व गोर्खा सैनिकहरुले आफुहरुलाई पेन्सन लगायतका विषयमा भेदभाव भै रहेको गुनासो गर्दै आएका छन्। तर ब्रिटिश सरकारले ती आरोपहरुलाई अस्वीकार गर्दै आएको छ।
साझा गोर्खा अभियान
आयोजकका अनुसार कार्यक्रम विशेषत: बेलायत सरकारले भूप गोर्खा सैनिकहरू माथी गरेको अन्याय, अत्याचार र भेदभावपूर्ण व्यवहारको विरुद्ध साझा गोर्खा अभियान निर्माण गर्ने बारे केन्द्रित रहने छ । कार्यक्रममा गेसो, गोर्खा सत्याग्रह, बीजीडब्लुएस, नेसा, बीगेसो युके लगायतका प्रमुख गोर्खा संगठनका अगुवाहरु सहभागी हुने बताइएको छ।
त्यस्तै अध्यागमन मामिला सम्बन्धी विज्ञ सोलीसिटर राजु थापाले भूतपूर्व गोर्खा परिवारका तीस बर्ष माथिका वयस्क सदस्यहरुको भिसा तथा स्थायी अनुमति सम्बन्धि प्रकृयाका सम्बन्धमा प्रस्तुति गर्ने छन् । यसैगरी गोर्खा वेलफेयर ट्रस्टका नेपालका लागि डेपुटी फिल्ड डाइरेक्टर सेवानिवृत्त ले. कर्नेल यम बहादुर रानाले ट्रस्टले नेपालमा भूतपूर्व गोर्खा तथा तिनका परिवारलाई पुराउंदै आएको सेवाबारे जानकारी गराउने छन्।
कार्यक्रममा हाल नेपालमा बसोबास गर्ने गोर्खा विग्रेडबाट सेवानिवृत्त ९८ वर्षीय ले. कर्नेल जोन पी क्रस ओविईले गोर्खालीहरुको न्यायका लागि बेलायत सरकारलाई अपिल गर्नेछन् । अन्तमा प्रश्नोत्तर कार्यक्रम रहने छ।
उक्त कार्यक्रम विभिन्न समाचार माध्यमका सामाजिक सन्जालबाट प्रत्यक्ष प्रसारण गरिने छ ।