२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

ओलीको बिकल्प खोजेर देशलाई शान्तिपूर्ण निर्वाचनतर्फ लानुपर्छ: गगन थापा

1013 Shares
Spread the love

उदयपुर । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नैपर्ने आवश्यक्ता भएको बताएका छन् ।

उदयपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओलीले देशका सबै संवैधानिक निकायहरुलाई निकम्मा बनाउँदै प्रजातन्त्रलाई नै खतरामा पार्दै गएको हुँदा उनको विकल्प खोज्नुपर्ने बताएका हुन् ।

‘माओवादी र जसपाले छिटो निर्णय गरोस, कांग्रेस नेतृत्व लिन तयार छ’, थापाले भने,‘ओलीले बिगारेका सबै कुरालाई सपारेर देशलाई निर्वाचनमा लग्ने काम कांग्रेसले गर्छ ।’

ओलीले निर्वाचन गराए नाम मात्रको निर्वाचन हुने भन्दै उनले देश अब निर्वाचनमा गइसकेकाले ओलीको बिकल्प खोजेर देशलाइ शान्तिपूर्ण निर्वाचनमा लानु पर्नेमा जोड दिए ।

उनले देशमा नेपाल कम्युनिस्ट पार्टी भन्ने मरिसकेको हुँदा अब कांग्रेसले ती कम्युनिस्टहरुलाई समेत समेट्दै देशलाई कांग्रेसमय बनाउदै लानुपर्ने बताए ।

सर्वोच्च अदालतको निर्णयले नेपालमा नेकपा भन्ने चिज मरिसकेपछी चिन्तित भएर समबेदना प्रकट गर्न गएको स्वयम नेकपाका कार्यकर्ता नै उत्साहित भएर लड्डु खाँदै शोकगीत गाउने बेलामा लोकगीत गाउँदै रहेछन्, उनीहरुलाई नेकपा भन्ने चिज कति घाँडो भएको रहेछ’, नेता थापाले भने ।

कम्युनिस्टले काम गर्न सकेन र हामी आएका भन्ने मात्र नभएर ती कम्युनिस्टसँग आजित भएका जनतालाई आशा र भरोसा देखाएर भिजन र योजना सहित कांग्रेस जनताकोमा जानुपर्ने उल्लेख गरे ।

कार्यक्रममा एमाले, माओवादी र राप्रपा परित्याग गर्दै एकसय जना भन्दा बढी नेपाली काँग्रेसमा प्रवेश गरे । नव प्रवेशीहरुलाई सदस्यता तथा अबिर लगाएर स्वागत गर्दै नेता थापाले उनिहरु जुन उत्साह र बिश्वासका साथ कांग्रेस प्रवेश गरेका छन त्यो उत्साह र बिश्वास नेपाली कांग्रेसले टिकाई राख्ने प्रतिबद्धता ब्यक्त गरे ।

दुइ दिनसम्म चल्ने सम्मेलनमा बुधबार उद्घाटन सत्र र विहीबार बन्द सत्र रहेको नेपाली कांग्रेस उदयपुरले जनाएको छ । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी परियार, संघीय संसद प्रमिला राई, प्रदेश संसद हिमाल कार्की, प्रदेश संसद सज्जा दनुवार पार्टी सभापति बिदुर बस्नेत, पुर्व सभापतिहरु नारायण कार्की,अर्जुन खड्का क्षेत्रीय सहसभापति बसन्त बस्नेत, क्षेत्रीय सभापतिहरु राम कुमार खत्री, भोजराज खतिवडा पूर्व संबिधान सभा सभासद शान्ती कुमारी चौधरी लगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।

यस्तै कार्यक्रममा पार्टीका पूर्वसभापति अर्जुन खड्काद्वारा लिखित ‘कांग्रेसमा संघर्षका कथा ब्यथा’ नामक पुस्तकको बिमोचन समेत गरिएको छ ।

प्रतिक्रिया