२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

“कांग्रेसले अपरिपक्‍व कदम चाल्दैन” : देउवा

737 Shares
Spread the love

विराटनगरः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार परिवर्तनका लागि परिपक्‍व आधार नभइ संसदमा सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता नगर्ने बताएका छन् ।

उनले नेपाली कांग्रेस सरकारमा जाने हतारोमा नरहेको भन्दै अपरिपक्‍व काम गरेर आफ्नो साख गिराउने काम नगर्ने उल्लेख गरे । धरानमा दलित संघको कार्यक्रममा सहभागी हुने क्रममा विराटनगर विमानस्थलमा कुराकानी गर्दै देउवाले परिस्थिति परिपक्व बनेको खण्डमा कांग्रेस सरकारको नेतृत्व लिन तयार रहेको धारणा राखेका थिए ।

‘एमाले बाहेकका दलहरू मिलेर सरकार बन्ने स्थिति हुनुपर्‍यो नि !,’ विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा भने, ‘कम्युनिष्टहरूले शान्ति, स्थिरता र विकास भनेर भोट मागे । उनीहरूको कलहले मुलुक अस्थिरतातर्फ धकेलियो ।’

उनले कम्युनिष्ट नेतृत्वलाई जनताले दिएको म्याण्डेटको वैधानिकता समाप्त भएको भन्दै उनले मुलुकलाई अस्थिरतातर्फ धकेल्न नदिइ नयाँ सरकार बन्न नसक्ने परिस्थितिमा निर्वाचनमा जानु नै उत्तम विकल्प ठहर्‍याएको बताएका थिए ।

फागुन २३ को सर्वोच्चको फैसलाले एमाले र माओवादी दुई पुरानै दल ब्युतिएपछि माओवादीले समर्थन फिर्ता लिएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल शुरु गरेको थियो । तर नयाँ सरकार गठनमा निर्णायक देखिएको जनता समाजवादी पार्टीले प्रधानमन्त्री ओलीलाई हटाउने सम्बन्धमा एकमतले निर्णय गर्न नसक्दा नयाँ सरकार गठनको विषय परिपक्‍व बन्न नसकेको हो ।

एमालेभित्रको ओली इतर समूहका सांसदहरू अविश्वासको प्रस्ताव पारित गर्ने दिन अनुपस्थित भएर अविश्वासको प्रस्ताव पारित हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव पनि एमालेभित्र माधव नेपाल समूह संकटमा पर्दै गएपछि किनारा लागेको छ ।

जनता समाजवादी दलले भने अरूको नेतृत्वमा नभएर आफ्नै नेतृत्वमा सरकार बनाउन चाहेका यसका वरिष्ठ नेताहरू बाबुराम भट्टराई र महन्थ ठाकुरले बताइसकेका छन् ।

एमाले इतर जनता समाजवादी दलको नेतृत्वमा सरकार बनाउने सवालमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सकारात्मक छैन भने जनता समाजवादीलाई अन्य दलको नेतृत्वमा सरकारमा सहभागी हुँदा प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी नै फुटाइदिएर सरकार जोगाउन सक्ने विश्लेषण पनि विपक्षी दलहरूले गरिरहेका छन् ।
माओवादीले समर्थन फिर्ता लिएको खण्डमा पनि ओलीले जनता समाजवादी पार्टी फुटाएरै पनि सरकारमा उनीहरूलाई सामेल गराउने विश्लेषणका आधारमा सरकारलाई दिएको समर्थन जारी राखेको छ ।

देउवाले यस हिसाबले सरकार बनाउने सवाल भ्यागुताको धार्नी पुर्‍याउने हुनेजस्तो ठानेका छन् । बरु सरकार बनाउने तिर भन्दा निर्वाचनमै उनको ध्यान देखिन्छ ।

प्रतिक्रिया