२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

पूर्व माओवादी केन्द्रका २३ नेता एमालेको केन्द्रीय सदस्यमा मनोनित

2107 Shares
Spread the love

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र ब्युँतिएपछि पनि आफूलाई साथ दिएर माओवादीमा नफर्किएका २३ जनालाई एमालेको स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्य बनाएका छन्।

बालुवाटारमा शुक्रबार बसेको ओली समूहको केन्द्रीय कमिटी बैठकले उनीहरूलाई मनोनित गरेको हो।

माओवादी केन्द्रका पूर्वनेता रहेका उद्योग मन्त्री लेखराज भट्टले माओवादी केन्द्रमा स्थायी कमिटी सदस्य रहेकाहरूलाई एमालेको पनि स्थायी कमिटी सदस्य बनाइएको बताए ।

उनले अरूलाई केन्द्रीय सदस्य बनाइएको जानकारी दिए । शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय समेत गरेको छ।

ओली सरकारमा गृहमन्त्री रहेका रामबहादुर थापा,टोपबहादुर रायमाझी,लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा,ज्वाला शाह,टेकबहादुर बलमपाखी,कमल चौंलागाईं,मनोज थापा,विषमलाल अधिकारी,लीलालबहादुर थापा,दधिराम न्यौपाने,गिरधरि लाल,झपट बोहोरा, दावा लामा,चन्द्रबहादुर खड्का,डम्बर बिष्ट,गौरीशंकर चौधरी,नवीन रोक्का,धर्मराज रेग्मी,दिनेश पन्थीलगायतका नेताहरु माओवादी केन्द्रमा नफर्की ओली पक्षमै रहने निर्णय गरेका थिए।

नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसियो

बैठकले बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादललाई तोकेको छ ।  त्यसैगरी विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई नियुक्ति गरिएको छ । उक्त विभागमा पहिला माधवकुमार नेपाल थिए।

त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ। कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई तोकिएको छ।

प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ। वरिष्ठ नेता माधव नेपाल तथा झलनाथ खनाललगायत नेताहरूलाई जानकारी नै नदिई उक्त निर्णय भएको स्रोतको भनाइ छ।

सर्वोच्च अदालतको फैसलापछि एमाले ब्युँतिदा नेपाल समूह एमालेमै फर्किए पनि ओलीले उनीहरुसँग छलफल गरेका छैनन् । ओलीले आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेका हुन् ।

प्रतिक्रिया