२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनआरएनए अध्यक्ष कुमार पन्तले भने, ‘कुल दाई अध्यक्ष भएको हेर्ने चाहना छ’

43456 Shares
Spread the love

काठमाडौं –  गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्त र अध्यक्षका उपविजेता कुल आचार्य एउटै कार्यक्रममा देखिए। सन् २०१९ को अक्टोबरमा काठमाडौंमा सम्पन्न संघको अन्तर्राष्ट्रिय अधिवेशनमा पन्तका प्रतिस्पर्धी थिए, आचार्य।

पन्त अध्यक्ष निर्वाचित भए। आचार्य उपविजेता। चुनावी परिणाम आएपछि पन्तलाई आचार्यले शुभकामना दिए। तर, अध्यक्ष पन्तले सबैलाई समेट्न नसकेको आरोप लागिरहँदा आचार्यसँग मञ्च शेयर गरेका छन्।

संघभित्र दुई धारको नेतृत्व गर्ने पन्त र आचार्य हातेमालो गर्दै एउटै मञ्चमा देखिए। कार्यक्रम आचार्यकै जन्मथलो पर्वतको जलजला गाउँपालिका–७ स्थित कृष्ण भवन धर्म माविमा आयोजना गरिएको थियो।

जर्मनी निवासी पन्त र बेलायत निवासी आचार्य अहिले नेपालमै छन्। केही दिनको काठमाडौं बसाइपछि जन्मथलोमा कार्यक्रम तय गरेका आचार्यले आफ्नो गाउँमा संघका अध्यक्ष पन्तलाई पनि लैजाने निधो गरे।

आचार्यको आग्रह पन्तले स्वीकार गरे। आचार्यको गाउँमा दुई प्रतिस्पर्धीको हातेमालो देखियो। उमेरले आचार्यभन्दा पन्त केही कान्छा छन्। अनौपचारिक कुराकानीमा पन्तले आचार्यलाई दाई भन्छन्। आचार्यले पन्तलाई भाइ।

दाजुभाइको सम्बन्ध धाइरिङमा पनि देखियो। सार्वजनिक मञ्चमै एकले अर्का दाजुभाइकै साइनोले सम्बोधन गरे। धाइरिङमा पाएको स्वागतपछि पन्तले अब संघ आचार्यकै नेतृत्वमा अगाडि बढ्ने संकेत गरे।

पञ्चेबाजाको स्वागत

कृष्ण भवन धर्म माविले धर्म जयन्ति तथा पुरस्कार वितरण समारोह आयोजना गरेको हो। कुल आचार्यका पिता स्वर्गीय धर्मनाथ उपाध्यायको नामबाट नै सो विद्यालयको नामाकरण गरिएको छ।

धर्मनाथले २०१८ सालमा स्थापना गरेको सो विद्यालयमा धर्मनाथका छोरा कुल आचार्यले अक्षयकोष स्थापना गरेका छन्। सोही अक्षयकोषबाट विद्यार्थीहरूलाई पुरस्कृत गरिन्छ।

पन्त र आचार्यसहित धाइरिङ पुगेका एनआरएनए अभियन्ताहरूलाई स्थानीयले पञ्चेबाजा, नाचगान, फूलमाला र अबिरले स्वागत गरेका छन्।

भव्य स्वागतपछि शुरु भएको सभाका प्रमुख अतिथि पन्त थिए।  आचार्य विशेष अतिथि। दुवैले एकअर्काको प्रशंसा गर्दै विद्यालयलाई सहयोगको घोषणा पनि गरे।

पन्तको पाँच लाख, आचार्यले एक लाख थपे

कृष्ण भवन धर्म माविमा अहिले १२ कक्षासम्म अध्ययन अध्यापन हुन्छ। गाउँलेहरूले विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने योजना सुनाए। स्थानीयको योजना सुनेपछि अध्यक्ष पन्तले विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि संघका तर्फबाट ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे।

विद्यालयमा आचार्यले वर्षौअघि स्थापना गरेको अक्षय कोष छ। शिक्षक तथा अभिभावकहरूले अक्षयकोषको रकम वृद्धि नभएको गुनासो पनि गरे। आचार्यले अक्षयकोषमा एक लाख रुपैयाँ थप्ने घोषणा गरे।

पन्त र आचार्यको सहयोगको घोषणापछि त्यस क्षेत्रका अभिभावक, शिक्षक तथा विद्यार्थीमा खुशी बढेको छ। सभामा सहभागी स्थानीयले संघको अध्यक्षका रुपमा पन्तले कार्यकाल पूरा गर्न लागेकोमा बधाइ दिँदै आगामी अध्यक्षमा आचार्यलाई देख्न चाहेको बताए। स्थानीयको कुरा सुनिसकेपछि पन्त र आचार्यले पनि आ–आफ्नो धारणा राखेका थिए।

कुमार पन्तको चाहना ‘अब कुल आचार्य अध्यक्ष’

सभामा बोल्ने क्रममा अध्यक्ष पन्तले अघिल्लो अधिवेशनमा लोकतान्त्रिक रुपमा प्रतिस्पर्धा भएको र प्राविधिक रुपमा आफूले जिते पनि दुई जनाबीच कुनै नराम्रो सम्बन्ध नरहेको बताए। ‘त्यो एउटा प्रक्रिया थियो, त्यति बेलै सकियो,’ पन्तले भने, ‘अहिले पनि हामीबीच सम्भावनाहरू छन्।’

आचार्यको गाउँमा आयोजित सभामा खुलेर बोलेका अध्यक्ष पन्तले स्थानीयको चाहनामा सहमति व्यक्त गर्दै भने, ‘हामी एउटै अभियानमा छौं, हिजो पनि सँगै थियौं, आज पनि सँगै छौं, कुल दाई एनआरएनएको अध्यक्ष भएको देख्ने चाहना मेरो पनि छ।’

अध्यक्ष पन्त अघि बोलेका आचार्यले विगतमा कोभिड–१९ महामारीले रोकेको यात्रा फेरि शुरु भएको बताएका छन्। ‘हामीबीचको सम्बन्धमा कुनै कमी आएको छैन, धाइरिङ यात्राले पनि यसलाई प्रमाणित गरिदिएको छ,’ आचार्यले भने।

खासगरी गत जनवरी अन्तिम साता सम्पन्न संघको विशेष अधिवेशनको दौरान पन्त र आचार्यबीच केही विषयमा मतभेद देखिएको थियो। तर अन्तिम समयमा यी दुई जनाको समन्वयका कारण अधिवेशन निष्कर्षमा पुगेको थियो।

संघको सल्लाहकार रहेका आचार्य र अध्यक्ष पन्तसँगै धाइरिङ पुगेका एनआरएनए अभियन्ताहरू पनि यी दुई बीचको मेल देखेर हर्षित देखिन्थे।

पन्त र आचार्यसँगै पर्वत र म्याग्दीको भ्रमणमा निस्केका मध्यपूर्व उपसंयोजक मनोज गोर्खाली, यूरोप उपसंयोजक कृष्ण तिमल्सिना, आइसिसी सदस्य चिन्तामणि सापकोटा, धर्मराज गिरी लगायतका अभियन्ताले धाइरिङमा देखिएको एकताले सिंगो डायस्पोरामा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन्।

प्रतिक्रिया