लन्डन । बेलायतको नेपाली समुदायमा सामाजिक अभियन्ता धन बहादुर सार्कीले पोष्ट अफिस अर्थात हुलाक सेवा खरिद गरेका छन् ।
नेपाली वेयलफेयर सोसाइटी यूकेका अध्यक्ष तथा ‘बाचौँ र बचाऔँ’ अभियानका अभियन्ता एवं समाजसेवी धन बहादुर सार्कीले पोष्ट अफिस खरिद गरेका हुन् ।

अल्डरसट, रसमोर बरो काउन्सिल स्थित ‘नर्थ टाउन पोस्ट अफिस’लाई सार्कीले खरिद गरेको बताए ।
उक्त पोष्ट अफिसबाट चिठी, डकुमेन्टसहित ३० केजी तौलसम्मका सबै प्रकारका सामान विश्वभर पोष्ट गर्न सकिनेछ । ब्रिटिस पासपोर्ट चेक एन्ड सेन्ड, आइडी भेरिफिकेशन, बैंकिङ कारोबार (एकाउन्ट खोल्न, डिपोजिट/सेभिङ गर्न, पैसा निकाल्न, आइएसए खोल्न, चेक डिपोजिट गर्न क्रेडिट कार्ड लिन, मोर्गेज) आदि सेवा उपलब्ध भएको सार्कीले बताए ।
त्यसैगरी ट्राभलअन्तर्गत संसारभरका पैसा साट्ने व्यवस्था, पैसा पठाउन वा लिनका लागि मनिग्राम सेवा, पेन्सनको पैसा निकाल्न सकिने, इन्सुरेन्स, बस रेल, डिस्काउन्ट पास आदि समेत उपलब्ध छन् ।

इमर्जेन्सी पोष्ट साँझ ५ बजेसम्म आए भोलिपल्ट बिहान ९ बजे पाइने ‘स्पेसल डेलिभरी’ व्यवस्था समेत उपलब्ध भएको सार्कीले बताए ।
यस कार्यालय खरिद गर्ने कार्यमा सहयोग पुर्याउने काउन्सिलर गेयानर अस्टिन, काउन्सिलर किथ डिब्बल, मार्क गिट्टोस विविड़ होम्स अफिसर, रसमोर बरो काउन्सिल अफिसरहरु, राजेन्द्र सुवेदी, चारट्याक्स एसोसियसन एन्ड कम्पनी चार्टर एकाउन्टेन्ट, एनआरएन युके सचिव जित रानाभाट तथा पोस्टमास्टर हारो पोस्ट अफिस लन्डनका सञ्चालक कृष्ण तिवारीलाई सार्कीले विशेष धन्यवाद दिए ।
पोस्ट अफिसको साथमा आउटपोस्ट कफी नामक क्याफे पनि सञ्चालन हुदैछ । उक्त क्याफेलाई बेलायती तथा नेपाली समुदायका मानिसहरुलाई मिटिङ्ग पोइन्ट या भेटघाट गराउने स्थलको रुपमा विकास गरिने तयारी छ ।
नर्थटाउनमा झन्डै पाँच हजार जनसख्याले बसोबास गर्दछन भने यो बर्षमा बिबिड होम्सले चार सय घरहरु बनाउने योजना गरेको छ । अझै एकहजार भन्दा बढी मानिसहरु यहाँ थपिने बताइएको छ ।

‘यो क्षेत्रलाई नेपालीको ‘बिजनेस हब’ बनाउने सोँच छ, त्यसैअनुसार अघि बढेका छौँ’, सार्कीले भने, ‘यस कार्यमा सबैको साथ दिनुहुनेछ भन्ने अपेक्षा छ।’
नेपाली वेयलफेयर सोसाइटीमा अध्यक्ष भएसँगै ‘बाँचौ र बचाऔँ’ अभियान मार्फत नेपालका २१ ठाँउमा कोरोना महामारी र बाढीपहिरो पीडितलाई राहत बितरणको नेतृत्व गरेका उनी बेलायतमा समाजसेवाको उच्च पंक्तिमा आफुलाई उभ्याउन सफल भएका छन् ।
एनआरएनएका सदस्य समेत रहेका उनले आफ्नो जीवन नै समाजसेवाको निम्ती समर्पित गरेको बताउने गरेका छन् ।
‘जीवनमा आफूले कमाएको थोरै अंश भएपनि समाज र दुखी गरिबको निम्ती खर्च गर्नुपर्छ यसैमा भलो हुन्छ भन्ने मान्यता मेरो छ’, उनी भन्छन्, ‘भगवान खोज्न मन्दिर गएर हुँदैन दुःखमा परेका मानिसको पेट भर्न सक्नुपर्छ।’
नेपालको गार्खा जिल्लामा जन्मेर चितवन बसाइसरेका उनी पूर्व गोर्खा ब्रिटिस सैनिक समेत हुन् ।
विगत दुई दशक देखी बेलायतमा बसिरहेका सार्कीलाई समाजसेवा, जागिर र व्यवसायलाई कसरी व्यवस्थापन गर्नुहुन्छ त ? भन्ने प्रश्नमा उनले भने, ‘सवै सम्भव छ ।टेक्नोलोजीको जमानामा सबै कामहरु एकैपटक सहज रुपमा गर्न सकिन्छ । मैले समयको अधिकतम सदुपयोग गरेर अघि बढ्नेछु।’
पोष्ट अफिसलाई चाँडै सञ्चालन गर्ने भन्दै उनले त्यसको लागि स्टाफ पनि तयार गरिसकेको बताए ।
व्यस्तताले गर्दा समाजसेवालाई बिर्सनु हुन्छ कि भन्ने लण्डन नेपाल न्यूजको अर्कों प्रश्नमा उनले थपे, ‘समाजसेवा मेरो काम मात्र होइन, मेरो प्यासन हो, दायित्व हो र सपना हो । र सपनाबाट म कहिल्यै पनि विचलित हुनेछैन । यसपछि समाजसेवा गर्न म थप उर्जा सहित अघि बढ्ने छु, यो पोष्ट अफिस व्यवसायलाई पनि समाजसेवाकै एक पार्टको रुपमा जोड्ने मेरो योजना छ।’