२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

नेपाली साहित्यकार बिश्व सञ्जालले गर्यो बृहत् रचना वाचन कार्यक्रम

6235 Shares
Spread the love

लिस्बन । नेपाली साहित्यकार बिश्व सञ्जालले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर बृहत् रचना वाचन तथा सरस्वती सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
बसन्तपञ्चमी अर्थात् सरस्वती पुजाको अवसर पारेर जुम प्रबिधी मार्फत् सञ्जालले रचना वाचन तथा सरस्वती सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

सञ्जालका संयोजक स्पन्दन विनोदको अध्यक्षता तथा अग्रज साहित्यकार तथा नियात्राकार प्रतीक ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विश्वभरबाट नेपालीभाषी साहित्यकारको ब्यापक सहभागिता रहेको थियो ।
पाठशालामा रचना समायोजन गर्न सहयोग गर्दै आउनुभएकी कमला महतको सरस्वती बन्दना पाठ पश्चात कार्यक्रमलाई अगाडी बढाईएको थियो। पाठशालाका प्रशिक्षक, अग्रज तथा अनुजहरू समेटेर गरिएको करिब ४ घण्टा लामो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा नियात्राकार प्रतीक ढकालले नेपालीहरु बिश्वको जुनसुकै कुनामा रहेपनि आफ्नो देशलाई माया र सम्मान गर्नु पर्नेमा जोड दिनुभयो। नेपाल १२५ जातजातीको देश र १२९ भाषा बोलिने देश भएको उल्लेख गर्दै उहांले यो भन्दा ठुलो गौरवको विषय अरु के हुन सक्छ भन्दै प्रश्न समेत गर्नुभयो । “विश्वमा रहेका १४ अग्ला हिमाल मध्ये ८ वटा त नेपालमै छन्।, संसार भर नेपाललाई चिनाउने भनेकै हिमाल, गोर्खा, शेर्पा र बुद्ध हुन् । ‘अब नेपाली साहित्यकारको काँधमा पनि यो जिम्मेवारी थपिएको छु’– उहांले भन्नुभयो ।” ‘ढकालका अनुसार शब्द ब्रम्ह हो, शब्द मन्त्र हो, शब्दमा अथाह शक्ति हुन्छ।, यही सुन्दर शब्द मार्फत नेपाली साहित्यकार साहित्यका माध्यमबाट हाम्रो देशलाई विश्वभर चिनाउन सक्छन्।’ उहांले नेपाली साहित्यकार समूहले यो विषम परिस्थितिमा प्रविधिको प्रयोगबाटै विश्वभर छरिएर रहेका नेपाली भाषीहरुलाई एकै थलोमा एकतावद्ध गर्न सकेकोमा समूहका परिकल्पनाकार स्पन्दन विनोद प्रति कृतज्ञता समेत ब्यक्त गर्नुभयो ।

कार्यक्रमका सभापति स्पन्दन विनोदका अनुसार सरस्वतीको बास रहेका हरेक नेपालीभाषी सर्जकको सम्मानार्थ हरेक बर्ष बसन्त पंचमीका दिन नेपाली साहित्यकार समूहले बार्षिक रचना वाचन तथा सरस्वती सम्मान कार्यक्रम गर्ने छ। कोरोना कहरका कारण यसपटक प्रविधिको सहयोग लिनु परेको भए पनि कोरोना कहर पछि भने यस्ता कार्यक्रमहरू भौतिक रुपमै भेला भएर गरिने स्पन्दन विनोदले बताउनुभयो।

कार्यक्रममा सोमबार प्रशिक्षण रहने गजलका प्रशिक्षक गजविद्वच्छिरोमणि डा. घनश्याम परिश्रमी न्यौपाने, सोमबार प्रशिक्षण रहने चारु राग विरागका प्रशिक्षक गजल सचेतक देवी पन्थी, मंगलवार प्रशिक्षण रहने गद्य कविताका प्रशिक्षक कवि कलानिधि दाहाल, बुधवार प्रशिक्षण रहने मुत्तकका प्रशिक्षक मुक्तककार सुनिल अधिकारी, बिहिवार प्रशिक्षण रहने छन्दकविताका प्रशिक्षक छन्द अभियन्ता माधव वियोगी तथा छन्द कवि हरिप्रसाद रिमाल, शुक्रवार प्रशिक्षण रहने गीत र संगीतका प्रशिक्षक गीतकार ज्ञानेन्द्र गदाल तथा गीतकार सुनिल संगम, शनिवार प्रशिक्षण रहने हाइकुका प्रशिक्षक हाइजिन पुरु सुवेदी, आइतवार प्रशिक्षण रहने बाछिटाका प्रशिक्षक अमर त्यागी तथा कोपिलाका प्रशिक्षक गिरीराज डल्लाकोटी लगायत उपस्थित भै आ–आफ्ना विधाका रचना वाचन गरेका थिए।

कार्यक्रममा करिब ९० जना भन्दा बढी नेपाली साहित्यकारहरूले आफ्ना रचना सुनाएका थिए। कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरूलाई मायाको चिनो, अग्रज प्रशिक्षकहरूलाई ‘सरस्वती साधना सम्मान २०७७’ र पाठशालामा आवद्ध अन्य सर्जकहरूलाई ‘सरस्वती सिर्जना सम्मान २०७७’ प्रदान गरिएको थियो। कार्यक्रम दुइ चरणमा गरिएको थियो । पहिलो चरणमा संजीव साहले प्रविधिमा साथ दिएका थिए भने दोस्रो चरणमा सर्वज्ञ वाग्लेले प्रविधिमा साथ दिएका थिए।

पछिल्लो समय विश्वभर छरिएर रहेका नेपालीभाषी साहित्यकारहरूलाई नेपाली साहित्यकार विश्व संजालले सामाजिक सञ्जाल फेसबुक मार्फत जोडेर नेपाली साहित्यका विविध विधाका अग्रज प्रशिक्षकहरूद्वारा निरन्तर अभ्यास गराउंदै आएको छ । नेपाली साहित्यका बिबिध विधा सिक्न र जान्न चाहने, साहित्यीक क्षेत्रमा कलम चलाउन चाहने र साहित्यीक ज्ञानको अभावमा अन्योलमा परेका सर्जकहरुका लागि सञ्जाल नमुना पाठशाला नै बनेको छ। हालसम्म १८३ औँ अंकमा पुगिसकेको पाठशालामा २५० जना जोडिएर निरन्तर साहित्य साधनारत छन्।

सामाजिक सञ्जाल फेसबुक मार्फत् खोलिएको नेपाली साहित्यकार बिश्व सञ्जालले बिश्वका कुना कुनामा रहेका नेपाली भाषी साहित्यकारहरूको अवस्था अध्ययन गरि सम्मान तथा सहयोग गर्ने, अग्रज साहित्यकारको सम्मान तथा रथारोहण गर्ने, नेपालीभाषा साहित्य, कला र संस्कृतीको विकास तथा पुस्तान्तरण गर्ने, अन्तर्राष्ट्रीय बजारमा नेपाली भाषाको पहुंच पू¥याउने, सर्जकहरूलाई आर्थीक, सामाजीक तथा शैक्षिक सहयोग गर्ने, प्रेरक पुरस्कार तथा सम्मान दिने र अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने मुल उद्धेश्य रहेको छ ।

कवि तथा गजलकार स्पन्दन विनोदको परिकल्पनामा समूह खोलिएको भए पनि सञ्जाल नेपाल र नेपाल बाहिर रहने सम्पूर्ण नेपालीभाषी सर्जकको साझा थलोको रुपमा विकास हुदैं गएको छ।

प्रतिक्रिया