२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

नेपाली जनसम्पर्क समिति बेलायतले गोर्खाहरुलाई सम्मान गर्ने

33425 Shares
Spread the love

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) ले पूर्व गोर्खाहरुको सम्मानमा एक गोष्ठीको आयोजना गर्ने भएको छ ।

७०औं प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना भइरहेको भर्चुअल कार्यक्रममा पूर्व गोर्खा र सेवारत गोर्खा सैनिकहरुलाई आमन्त्रण गरिएको कुरा एनपीसीसी यूकेका उपसभापति तथा भूतपूर्व गोर्खा बिभागका प्रमुख तर्क जंग गुरुङले बताए ।

आगामी फेब्रुवरी २० मा हुने कार्यक्रमको विषय विक्रम सम्वत २००७ सालको जनक्रान्ति र प्रजातन्त्रमा पूर्व गोर्खा सैनिकहरुको भूमिका रहेको छ । जस अनुसार १०४ बर्षे जहानियाँ राणा शासनको समाप्तिका लागि थालिएको मुक्ति आन्दोलन, २००७ सालको सशस्त्र क्रान्तिमा पूर्व गोर्खा सैनिकहरुको युद्द मोर्चा, र उनीहरुले खेलेको निर्णायक भूमिकाको बारेमा खोजमुलक प्रस्तुतिहरु हुनेछन् ।

शनिवार बिहान ११ बजेदेखि १ बजेसम्मको लागि तय भएको छ भने कार्यक्रमको आयोजना एनपीसीसी यूकेको केण्ट क्षेत्रीय समितिले संयोजन गरिरहेका छ ।

“यो कार्यक्रम २००७ सालको क्रान्तिका मुक्ति सेनाहरुप्रति समर्पित हो; वर्तमानमा देशविदेशमा रहेका ज्युँदा गोर्खाहरुप्रतिको सम्मान हो । नयाँ पुस्ताले इतिहास भुल्न लागे जस्तो अवस्थामा यस कार्यक्रमले हामीलाई इतिहासको स्मरण गराउनेछ र प्रजातन्त्र प्राप्तिका लागि पुर्खाहरुले गरेको योगदानको कदर गर्न सिकाउने छ,” केण्ट क्षेत्रीय समितिका सभापति किरण राईले नेपाल संसारलाई भने । सभापति राई आफैं पनि पूर्व गोर्खा सैनिक हुन् ।

७०औं प्रजातन्त्र दिवस नेपालमा र विश्वभरि नेपालीहरुले मनाइरहँदा बेलायतमा पनि यस कार्यक्रमलाई सफल पारौं भन्दै नेपाली जनसम्पर्क समिति बेलायतका कार्यवाहक सभापति महेश कुमार दहालले पूर्व गोर्खाहरु, सेवारत गोर्खाहरु र बेलायतवासी नेपालीहरुलाई सहभागिताको लागि आमन्त्रण गरेका छन् ।

प्रतिक्रिया