काठमाडौं । गैरआवासिय नेपाली संघ (एनआरएनए)ले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) बाट सहयोग स्वरुप प्राप्त रकम हिनामिना भएको चर्चाबीच एनआरएनए मध्यपूर्व संयोजक प्रविन गुरुङले सो विषयमा छानविनको माग गरेका छन् । गुरुङले एक विज्ञपित प्रकाशित गर्दै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को केन्द्रिय कार्यालयका कर्मचारीहरुको सहभागितामा मध्यपूर्वबाट स्वदेश फर्किएका नेपालीहरुको नाममा आर्थिक चलखेल हुने गरेको विभिन्न माध्यमबाट जानकारी प्राप्त भैरहँदा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यी र यस्ता हर्कतले सिङगो गैरआवासीय नेपाली संघको गरिमा प्रति ठूलो चोट पुग्ने उल्लेख गरेका छन् ।
‘पछिल्लो समयमा विशेषतः मध्यपूर्वका कतार, युएइए, साइदी अरब, बहराईन, कुयेत, ओमन आदि मुलुकहरुबाट नेपालीहरु स्वदेश फर्कने क्रममा नेपालस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका केही नेपालीहरुलाई स्वदेश फर्कनुको कारण सोध्ने, कम्पनी नाम, पिसीआर रिपोर्ट, हवाई टिकट, राहदानी आदि इकुमेन्टको फोटो खिच्ने र उद्धारको नाममा फर्जी विल भरपाई लगाएतका कागजात बनाई केहि राष्ट्रिय, अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको मिलोमतोमा स्वदेश फर्कने नेपालीहरुको नाममा आर्थिक चलखेल हुने गरेको कुरा संघको नामसंग जोडिएर सुन्नमा आउनु निकै निन्दनीय छ । विभिन्न सामाजिक सञ्जाल मार्फत आएका यस्ता कुराहरुबारे तत्काल छानबीन गरी सत्यतथ्य बाहिर ल्याउनको लागि संघका अध्यक्ष श्री कुमार पन्तज्यूलाई आग्रह गर्दछु’, गुरुङले जारी गरेको विज्ञप्तिमा छ ।
गुरुङले पछिल्लो समयमा गैरआवासीय नेपाली संघले विभिन्न समस्यामा परी नेपाल फर्कने नेपालीहरुलाई राहत तथा उद्धारका निमित मध्यपूर्वमा रहेका केहि आईसीसी र एनसीसीका पदाधिकारीहरुको सहभागितामा उद्धारकोष खडा गरेको र सो सम्बन्धमा मध्यपूर्वबाटै अन्तर्राष्ट्रिय समन्वय परिषद्को निमित्त निर्वाचित मध्यपूर्व संयोजक आफु, उप–संयोजक मनोज कुमार श्रेष्ठ गोर्खाली, यूवा संयोजक राज रेग्मी, महिला संयोजक सुमीत्रादेवी पौडेलको कुनै संलंग्नता तथा जानकारी नरहेको र आफुहरुसँग राहत वितरणका लागि परामर्शसमेत नलिइएको बताए ।
उनले जनसवालसँग भने–‘संघले स्थापना कालदेखिने गैरआवासीय या आवासीय नेपाली सबैका निमित्त समानरुपले मानवीय कार्यमा घनिभूत रुपमा काम गरीरहेको सच्चाई सबैमा विदितै छ। ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नाराका साथ स्थापित यो संघको गरिमा अन्तर्राष्ट्रिय स्तरमा विकसित भैसकेको सन्दर्भ एकातिर छ भने अर्कातर्फ यो संघरको प्रगति यसले गर्न मानवीय कार्य सहन गर्न नसक्नेहरु संघको गरिमालाई बस्काउने कार्यमा केहि पंक्तिहरु लागेको देखिन्छ ।’
गुरुङले गैररआवासीय नेपाली संघ, विशेषतः मध्यपूर्वमा कार्यरत रहेका नेपाली दाजुभाई तथा दिदि बहिनीहरुसमक्ष गैरआवासीय नेपाली संघको नाममा हुने कुनै पनि बदनियत प्रकारका गतिविधिहरुमा नलाग्न तथा संघको उचाईलाई सहन गर्न नसक्ने प्रवृत्तिका व्यक्तिहरुद्वारा हुने गरेका असामाजिक कृयाकलापलाई खबरदारी र दोषीलाई कारबाही गर्नका निमित आह्वान पनि गरेका छन् । ‘मध्यपूर्वको विभिन्न देशमा पदीय रुपमा दायित्व बहन गर्नुभएका आदरणीय अभियन्ताहरु, सिङगो गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिपद्का अध्यक्षज्यूहरू, अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीज्यूहरू तथा संघका अन्य सदस्यज्यूहरुलाई एकतावद्ध भई छानविन गरी साचो ठहर भएमा प्रचलित कानुन बमोजिम कारबाहीको दायरामा ल्याउनको लागि म सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछु’, गुरुङले उल्लेख गरे ।
