२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

‘देउवा पाँचौँ पटक प्रधानमन्त्री हुने’

12007 Shares
Spread the love

काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहे पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा र शेरबहादुर देउवा नेतृत्वको काङ्ग्रेस आ-आफ्नै प्रकारले चुनावी अभियानमा जुटेका छन् । निर्वाचन आयोगले निर्वाचन तयारीका कार्यक्रम अघि बढाउन थालेपछि मानिसको ध्यान चुनावतिर आकर्षित हुन खोजेको छ, तर काङ्ग्रेसभित्रको एउटा पक्ष, प्रचण्ड नेतृत्वको नेकपा र उपेन्द्र यादव नेतृत्वको क्षेत्रियतावादी समूह भने प्रतिनिधिसभा पुनर्स्थापना निम्ति सङ्घर्षमै जाने तयारीमा देखिएका छन् ।

घोषित मितिमा या त्यसको आसपासमै निर्वाचन भएमा काङ्ग्रेसमा देउवा पक्ष हाबी हुने भएकोले देउवाविरोधीहरू प्रतिनिधिसभा पुनर्स्थापना गराएर पार्टीको महाधिवेशनमा जाने र, काङ्ग्रेसलाई आफ्नो नेतृत्वमा ल्याएपछि मात्र चुनावमा जाने मानसिकतामा छन् । वैशाख, जेठ या असार जहिलेसुकै निर्वाचन भए पनि त्यसको पूर्ण लाभ देउवा तथा उनको पक्षलाई मात्र मिल्ने देखिएपछि काङ्ग्रेसभित्रका देउवाविरोधीहरू चिन्तित बनेका हुन् ।

घोषित निर्वाचनका कारण काङ्ग्रेसका एकथरीको सपना भताभुङ्ग हुन पुगेको छ । देउवाविरोधी क्याम्पका कसैले आफूलाई ‘राष्ट्रपति’ ठान्न थालेका थिए भने कसैले पार्टीको सभापति र महामन्त्री । चुनावका कारण अब काङ्ग्रेसको महाधिवेशन अनिश्चित बनेको छ । कम्तिमा पनि आमनिर्वाचनभन्दा पहिले काङ्ग्रेसको महाधिवेशन सम्भव देखिएको छैन । त्यसैले आगामी निर्वाचनमा उम्मेदवार चयन गर्दा देउवा पक्ष बढी लाभान्वित हुने, कदाचित पार्टीले विजय हासिल गरे पनि आफूहरू ‘जस्ताको त्यस्तै’ रहनुपर्ने र त्यसपछि हुने महाधिवेशनमा पनि देउवाले नै ‘बाजी मार्ने’ सम्भावना देखिएपछि काङ्ग्रेसभित्रका प्रतिपक्षीहरू ज्यादा आक्रामक र चिन्तित भएको बुझिन्छ ।

ज्ञातव्य छ, काङ्ग्रेसले २०७७ को फागुनमा १४औँ महाधिवेशन गर्ने निर्णय लिएको थियो र कोभिड–१९ का कारण केही महिना महाधिवेशन सार्नेबारे काङ्ग्रेसभित्र छलफल चलिरहेको थियो । संस्थापन पक्षले २०७८ को भदौ या असोजसम्म महाधिवेशन गराउने योजना बनाएको थियो भने देउवाविरोधीहरू २०७८ को जेठभित्रै महाधिवेशन गराउने अडानमा थिए । परिस्थितिले शेरबहादुर देउवालाई ‘सबै हातमा लड्डु’ पर्ने अवस्था बनाइदिएको छ ।

देउवा फेरि पनि पार्टीको नेतृत्व आफैं लिन चाहन्थे, परिस्थिति उनकै अनुकुलतातर्फ मोडिएको छ । देउवा पाँचौंँ पटक देशको प्रधानमन्त्री बन्न चाहन्छन्, घटनाक्रम उनको अनुकुल बन्दै गएको छ । यदि आगामी वर्षदिनभित्रै निर्वाचन भयो भने त्यसबाट सबैभन्दा ठूलो लाभ प्राप्त गर्न सक्ने ठाउँमा देउवा आइपुगेका छन् । मानौँ, नेकपा उनकै भाग्यका निम्ति विभाजित भएको हो र, संसद विघटन पनि देउवालाई नै मौका दिनका निमित्त गरिएको हो ।

देउवा महाधिवेशनको मिति जति सकिन्छ त्यति पछाडि सार्न चाहन्थे, परिस्थिति आफैंले महाधिवेशनलाई पछाडि धकेलिदिएको छ । देउवा फेरि पनि पार्टीको नेतृत्व आफैं लिन चाहन्थे, परिस्थिति उनकै अनुकुलतातर्फ मोडिएको छ । देउवा पाँचौंँ पटक देशको प्रधानमन्त्री बन्न चाहन्छन्, घटनाक्रम उनको अनुकुल बन्दै गएको छ । यदि आगामी वर्षदिनभित्रै निर्वाचन भयो भने त्यसबाट सबैभन्दा ठूलो लाभ प्राप्त गर्न सक्ने ठाउँमा देउवा आइपुगेका छन् । मानौँ, नेकपा उनकै भाग्यका निम्ति विभाजित भएको हो र, संसद विघटन पनि देउवालाई नै मौका दिनका निमित्त गरिएको हो । अन्य विधामा कुनै क्षमता नदेखिए पनि आफ्नो स्वार्थ बुझ्ने क्षमतामा देउवा अब्बल छन्, त्यसैले उनी अन्य कुनै पक्षसँग मिलेर सडक सङ्घर्षमा जान तयार भएनन् र, पछिल्लो समयमा ‘प्रधानमन्त्रीको कदम’लाई असंवैधानिक करार दिन पनि उनले छोडेका छन् ।

पार्टीबाट तर्जुमा गरिएका कार्यक्रम झट्ट हेर्दा सङ्घर्षजस्तो देखिए पनि सारमा निर्वाचन क्षेत्र केन्द्रित रहेको छ । सङ्घर्षको माहौल बनाएर कार्यकर्तालाई जुरुक्क उचाल्ने र तिनलाई सोझै निर्वाचन अभियानमा सहभागी गराउने रणनीतिक चालमा काङ्ग्रेस नेतृत्व लागिपरेको छ । यदि कुनै अप्रत्याशित घटना भएन र परिस्थितिले अर्कै मोड लिएन भने आगामी वैशाखमा कदाचित नभए पनि असार (२०७८) भित्रै निर्वाचन हुने र त्यसले शेरबहादुर देउवालाई पाँचौँ पटक देशको प्रधानमन्त्री बनाउने प्रबल सम्भावना छ । आफैं प्रधानमन्त्री भएर गराइने पार्टी महाधिवेशनले अर्को कसैलाई पार्टी सभापति चयन गर्ने विश्वास पनि गर्न सकिँदैन ।

यसरी देउवा पुनः प्रधानमन्त्री तथा पार्टी सभापति बनेमा नेपाल ‘स्वर्ग’ बन्ने र देशका ‘दुःखका दिन सदाका निम्ति अन्त्य हुने निश्चित’ मान्नुपर्ने गरी काङ्ग्रेसको सक्रियता शुरु भएको छ । त्यसपछि काङ्ग्रेसभित्रका प्रतिपक्षीहरूले पार्टी विभाजनको कसरत शुरु गर्ने हुन् या निर्वाचनकै मैदानमा देउवापक्षीय उम्मेदवारलाई पराजित गर्न अन्तर्घाती कार्ययोजना बनाएर अघि बढ्ने हुन् या राजनीतिबाट विश्राम लिने निर्णयमा पुग्ने हुन्, सो को जानकारीका निम्ति केही समय प्रतीक्षा गर्नुपर्ने भएको छ ।

 

प्रतिक्रिया