२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

पत्रकारिता पुरस्कारका लागि इन्जाद्वारा निवेदन आह्वान

2101 Shares
Spread the love

इन्जा पत्रकारिता पुरस्कारका लागि निवेदन आह्वान नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले एक लाख रुपिंया राशीको इञ्जा इन्भेष्टिगेटिभ जर्नालिज्म अवार्ड र एक लाख रुपिंया राशीको नै इञ्जा कम्युनिटी जर्नालिज्म अवार्डका लागि नेपाली पत्रकारहरुवाट निवेदन आह्वान गरेको छ ।

यसैगरी एक लाख रुपिंया राशीको उत्कृष्ट साहित्यिक पुरस्कारका लागि सिफारिस गर्न समेत इञ्जाले पाठकहरुलाई आह्वान गरेको छ ।

पत्रकारिता सम्वद्ध दुवै पुरस्कारका लागि निवेदन दिने पत्रकारहरुले सन् २०२० मा प्रकाशित वा प्रसारित आफ्नो समाचारको कपि वा लिंक समेत निवेदन साथ जनवरी ३० भित्र पेश गर्नुपर्ने इञ्जाले जनाएको छ ।

पत्रकारहरुवाट प्राप्त निवेदनहरुलाई इञ्जाद्वारा गठिन निर्णायक समितिले अध्ययन गरी फेवु्रअरी १५ मा पुरस्कार प्राप्त गर्ने पत्रकार तथा समाचार माध्यमको नाम सार्वजनिक गर्नेछ भने इञ्जाले मार्च १ मा आफ्नो स्थापना दिवसको उपलक्ष्यमा आयोजना गर्दै आएको इञ्जा डे को अवसरमा काठमाडौंमा एक समारोह आयोजना गरी सो पुरस्कार हस्तान्तरण गर्ने इञ्जा अध्यक्ष गुणराज लुइटेलले जानकारी दिनुभयो ।

पुरस्कारका लागि निवेदन दिने पत्रकारहरुले आफुलाई उत्कृष्ट लागेका तीनवटा समाचारहरुलाई प्रतिश्पर्धाका लागि समावेश गर्न सक्ने प्रावधान इञ्जाले वनाएको छ । गतवर्ष इञ्जा इन्भेष्टिगेटिभ जर्नालिज्म अवार्ड हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयवावु सिवाकोटी र इञ्जा कम्युनिटी जर्नालिज्म अवार्ड अछामकी मेनुका ढुंगाना र वाजुराका प्रकाश सिंहले प्राप्त गर्नुभएको थियो ।

इञ्जाले एक लाख रुपिंया राशीको यो वर्षको उत्कृष्ट साहित्यिक पुरस्कार पनि इञ्जा डेको अवसरमा नै हस्तान्तरण गर्ने भएको छ । उत्कृष्ट साहित्यिक पुरस्कार सन् २०२० प्रकाशित उत्कृष्ट नेपाली साहित्यिक कृतिका सर्जकलाई प्रदान गर्ने इञ्जाले जनाएको छ ।

यो पुरस्कारका लागि सर्जकवाट आवेदन नलिइ पाठकहरुलाई आफुलाई उत्कृष्ट लागेको कृति सिफारिस गर्न इञ्जाले पाठकहरुलाई आग्रह गरेको छ । पाठकहरुले सिफारिस गरेका उत्कृष्ट दश कृतिहरुलाई इञ्जाद्वारा गठित निर्णायक समितिले अध्ययन गरी एक कृतिका सर्जकलाई सो पुरस्कार प्रदान गरिने इञ्जा अध्यक्ष लुइटेलले जानकारी दिनुभयो । इञ्जाले पत्रकारिता पुरस्कारको निवेदन र साहित्यिक कृतिको सिफारिस [email protected] वा [email protected] इमेलमा पठाइदिन समेत आह्वान गरेको छ ।

प्रतिक्रिया