‘मलाई दलहरूले राजा बनाएको होइन र जनताले हटाएको पनि होइन ।’ निर्मल निवासमा पूर्व राजा ज्ञानेन्द्रको यस्तो भनाई सुनेर फर्किएकाहरु अचेल हौसिँदै आगामी चैतसम्म केही राजनीतिक परिवर्तन हुने उत्साहका साथ जुलुसमा जुट्न थालेका छन् ।
राप्रपाको राजनीतिमा त्यति धेरै सक्रिय नभएपनि राजतन्त्र पुनस्र्थापनामा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल समशेर राणालगायतका व्यक्तिहरू खुलेर अघि बढेका पाइन्छन् । गत शुक्रबार धवल समशेरहरूसँगको भेटमा ज्ञानेन्द्रद्वारा आफूलाई दलहरूले राजा नबनाएको धारणाप्रति भने नेताहरूले कडा प्रतिक्रिया जनाएका छन् । उनीहरूका अनुसार दुई दशकअघि दरबार हत्याकाण्डपछिको राजसभा बैठकमा तत्कालीन एमाले र नेपाली काँग्रेसले सदाशयतासाथ ज्ञानेन्द्रलाई नयाँ राजामा समर्थन गरेका थिए । त्यतिबेला प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एमाले महासचिव तथा विपक्षी दलका नेता माधवकुमार नेपालसमेतको उपस्थितिमा ज्ञानेन्द्रलाई राजा वीरेन्द्रको उत्तराधिकारी छनौट गर्ने प्रस्तावमा समर्थन जनाइएको थियो ।