२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

नेपाली राजदूतावास लण्डनमा चलचित्रकर्मी तथा मोडलहरु सम्मानित

10058 Shares
Spread the love

लण्डन । लण्डनस्थित नेपाली राजदूतावासमा गत मंगलबार ६ अक्टोबरका दिन बेलायतमा निर्मित नेपाली चलचित्र, नाटक र म्युजिक भिडियोहरुको प्रस्तुतिसहित नेपाली चलचित्र महोत्सव सम्पन्न भएको छ ।

बेलायतमा नेपाली चलचित्र, नाटक तथा नेपाली म्युजिक भिडियोको विकास, प्रचारप्रसार तथा बेलायतमा नेपाली चलचित्रको बजार प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक चलचित्र महोत्सवको आयोजना गरिएको दूतावासले एक प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

महोत्सवमा बेलायतमा रहेका निर्देशक कुशल श्रेष्ठद्वारा निर्देशित “दुख्ने मुटु” र “अधर” नामक दुई वटा म्युजिक भिडियोहरु तथा निर्देशक सनम कुमार वैरागद्वारा निर्देशित “शून्य” नामक लघु चलचित्रको संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीबाट लोकार्पण भएको थियो ।

कार्यक्रममा बेलायतमा निर्माण भएका नेपाली चलचित्रहरुलाई समेटेर तयार गरिएको संक्षिप्त भिडियो प्रस्तुति गरिएको थियो । साथै बेलायतमा रहेका प्रसिद्ध नाटक तथा चलचित्र निर्देशक सनम कुमार वैरागले बेलायतमा नेपाली चलचित्रको विकास र विस्तार सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

बेलायतमा रहेर नेपाली चलचित्र, नाटक, कला तथा संगीतको विकास, प्रचारप्रसार तथा लोकप्रियता अभिवृद्धिमा योगदान पुर्याउनुहुने निर्माता, निर्देशक तथा कलाकारहरुलाई राजदूत डा. सुवेदीले सम्मान गरेका थिए ।

बिगत लामो समयदेखि बेलायतमा रहेर कला क्षेत्रमा योगदान पुरयाएबापत राजदूत सुवेदीबाट विशेष सम्मान पाउनेमा निर्देशकद्वय कुशल श्रेष्ठ र सनमकुमार वैराग छन् ।

त्यसअवसरमा राजदूतबाट सम्मानित हुने अन्य चलचित्रकर्मीमा नायक ध्रुव दत्त, नायिका मिरुना मगर, कलाकार मनिष श्रेष्ठ, निर्माता निकेश लिम्बू, निर्देशक प्रेम लामा, सपनकुमार राई, मोडल रोश्ना कार्की र विष्णु खरेल लगायत थिए ।

प्रतिक्रिया