२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

डा.केसीको जीवन रक्षा गर्न प्रधानमन्त्रीलाई नेपाली जनसम्पर्क समिति बेलायतको सार्वजनिक अपील

31345 Shares
Spread the love

लण्डन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भात्तृ संगठन नेपाली जनसम्पर्क समिति बेलायतले चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशन बसेका अभियन्ता डा. गोविन्द केसीसँग वार्ता गरी उनको जीवन रक्षा गर्न माग गरेको छ । नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ्गले आइतबार सार्वजनिक अपील जारी गर्दै डा.केसीको जीवन रक्षाको माग गरेका हुन् ।

अपीलमा भनिएको छ, ‘डा गोविन्द के सीको अनशन २१ दिन पुगेर उहाँको स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दा समेत सरकारले वार्ता गरेर माग पूरा गर्न कुनै गम्भीरता प्रस्तुत नगरेको स्थिति देख्दा प्रवासमा बस्ने नेपालीहरुलाई अत्यन्तै दुःखद र गम्भीर बनाएको छ ।’

०४६ को परिवर्तनपछि नेपाली कांग्रेसको नीति र नेतृत्वमा नेपालमा चिकित्सा शिक्षाको विस्तार भएको स्मरण गराउदै सभापति गुरुङ्गले समयक्रममा कतिपय विसंगति चिकित्सा शिक्षा क्षेत्रमा बढेपछि सुधारका लागि तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले डा. केदारभक्त माथेमाको नेतृत्वमा चिकित्सा शिक्षामा सुधारका लागि उच्च स्तरीय कार्यदल गठन गरेको र सो कार्यदलको सुझाव बमोजिम सुधारका विविध कार्य अघि बढाएको जनाए ।

डा. के.सी.का मागहरू पूरा गर्दै नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वमा रहेकोे अघिल्लो सरकारले “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश” ०७४ कार्तिक २४ मा जारी गरेको थियो । तर वर्तमान सरकारले त्यसलाई विस्थापित गर्नुको परिणाममा आजको स्थिति उब्जिएको जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ्गले जनाए ।

वर्तमान प्रधानमन्त्रीकै अग्रसरतामा ०७५ को साउनमा डा. केसीसँग गरिएको सम्झौतालाई माघ महिनामा उल्लंघन गरेर द्वन्द्वको बीउ सरकारले त्यसबेलानै रोपेको थियो । अतः फेरि पनि संवाद मार्फत समाधानमा पुगेर त्यसको सार्थक कार्यान्वयनमा इमानदारी प्रस्तुत गर्न नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ्गले प्रधानमन्त्रीजीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया