२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

‘एनआरएनए यूकेको ४ करोड घोटाला गर्नेलाई कानूनी कठघरामा ल्याइने’

1150 Shares
Spread the love

लण्डन । गैर आबासीय नेपाली संघ (एनआरएनए)यूकेको नवौं कार्यसमितिले आफ्नो कार्यभार सम्हालेको वर्ष दिन पार गरेको छ । एनआरएनए यूके उपाध्यक्ष र संघको गोर्खा विभाग हेर्ने जिम्मेवारी हाम्रो कांधमा भएकाले हालसम्म भएका काम संक्षेपमा प्रस्तुत गर्ने जमर्को गरेको छु ।

हुन त कुनै पनि परिणाममुखी कार्यका लागि एक वर्ष समय त्यति पर्याप्त होइन् । त्यसमाथि कोभिड १९ महामारीले गर्दा संघले प्रभावकारी काम गर्न नसकेको मैले स्वीकार्नु पर्छ । भलै, अबको बांकी कार्यकालमा संघले आफ्नो उद्देश्य अनुरुप काम गर्ने मेरो विश्वास छ ।

मेरा कतिपय शुभचिन्तकहरुको जिज्ञासा छ, तपाईं किन कार्यसमितिमा सधैं प्रतिपक्षको भूमिका निभाउनु हुन्छ ? अर्थात विद्रोह शैलीमा प्रस्तुत हुनुहुन्छ । हो, म कुनै पनि क्षेत्रमा हात हालेपछि त्यसको आउटकम होस् भन्ने मान्छे हुं । म पद ओगटेर बस्ने मान्छे पनि होइन् र कुनै स्वार्थ लिएर संस्थामा आवद्ध भएको पनि ।

संस्थालाई अग्रगामी दिशामा लैजाने हो भने एक्सनमा जाउं भन्ने सधैं मेरो जोड हुन्छ र चित्त नबुझेका कुरा सिधा भन्ने मेरो स्वभाव छ । कतिपय सवालमा मेरो 
फरक मतलाई त्यसैगरि बुझिदिन मेरो आग्रह छ ।

गैरआवासीय नेपाली संघ बेलायतले एक वर्षमा के गर्यो के गरेन नेपाली समुदाय पक्कै जानकार छ । फेरि अध्यक्ष, महासचिवज्यूको विचारहरु मिडियामा पनि आइरहेको छ । त्यसकारण पनि समग्र संघको लेखाजोखा नगरि मैले सम्हालेको गोर्खा विभागबारे पाठकहरुसमक्ष अवगत गराउने कोशिस गरेको छु ।

म आफैं पनि एकजना भूतपूर्व गोर्खा भएकाले गोर्खा मुद्दा मेरो जहिल्यै चासोको विषय बन्यो । मेरो आफ्नो नेटवर्क, अनुभव र गोर्खाप्रति भावनात्मक सम्बन्धले पनि गोर्खा विभागको संयोजक भएर जिम्मेवारी लिंदा मलाई गर्व महशुस भएको छ । मलाई लाग्छ, छोटो अवधिमा पनि हाम्रो विभाग सक्रिय रहयो । कोभिड १९ महामारी हामीलाई काम गर्ने थप बहाना बन्यो ।

कोभिड १९ महामारीका बेला मुख्य सम्पर्क केन्द्र नै बन्यो गोर्खा विभाग । बेलायतको नेपाली समुदायमा भूतपूर्व गोर्खा र गैर गोर्खा कोभिड १९ का कारण मर्ने क्रम जारी थियो । त्यो दुःखद घट्नाबीच हामीले कोरोना प्रभावित परिवारलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने कुरालाई प्राथमिकता दियौं ।

गोर्खा विभाग सशक्त समूह भएकाले पनि हामीलाई काम गर्न असहज भएन । यस विभागमा बेलायतस्थित ६ वटा भूतपूर्व गोर्खा संगठनका प्रतिनिधि सम्मानित सदस्य हुनुहुन्छ । म यस लेखमार्फत गोर्खा संगठनहरु बिजिडब्लुएस अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्र देवान, गेसोका कार्यवहाक अध्यक्ष धर्म तामाङ, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक ज्ञानराज राई, नागरिकता निरन्तरता समूहका संयोजक थर्क राना, नेसा यूके अध्यक्ष केसबहादुर गुरुङ र बिगेसो अध्यक्ष पदमसुन्दर लिम्बुको साथ सहयोगप्रति आभार व्यक्त गर्दछु । कोभिडबाट निधन भएका भूपू गोर्खा र अन्य नेपालीको लगत राख्न राम गलामीले गरेको सहयोग पनि स्मरणीय छ ।

विभागमा १९ काउन्टी, कन्ट्री संयोजक, ७५ जना क्षेत्रीय संयोजक र २२ जनाको कार्यकारी समिति छ । 
१९ काउन्टी संयोजकहरुमा ओमथापा काउचा ह्यामसायर, देवीबहादुर लिम्बु सरे, लाल पुन केन्ट, रि. क्याप्टेन भिम सारुमगर मिडल्याण्ड, रि. डब्लुओटु बिनिकुमार गुरुङ योर्कसायर छन् । त्यसैगरि, क्या. रि. तुलसी पौडेल अक्सफोर्डसायर, चन्द्रकला लिम्बु वीलसायर, राम गलामी बक्र्ससायर, रि. डब्लुओटु दलप्रसाद थापा साउथ इष्ट लन्डन, धनबहादुर सार्की वेष्ट लन्डन, गन्ज आले नर्थवेष्ट लन्डन, शेरबहादुर पुन साउथ लन्डन, जितबहादुर गुरुङ बेडफोर्डसायर, मुकुन्द गुरुङ हर्टफोर्डसायर र मेजर उदयबहादुर गुरुङ एमबीइ इसेक्स् छन् । कन्ट्री कोअर्डिनेटरहरुमा मेजर रि. खुशीमान गुरुङ एमभिओ वेल्स्, रिटायर्ड क्याप्टेन टिकाराम लिम्बु स्कटल्याण्ड र लिलाराम निउरे नर्दन आयरल्याण्ड हुनुहुन्छ ।

विभागले लेफ्टीनेन्ट कर्णेल देवेन्द्र आले र लेफ्टीनेन्ट कर्णेल टोल काम्छा सल्लाहकार पाएको छ भने कानूनी सल्लाहकारमा सोलिसिटर राजु थापा, हेल्थ कोअर्डिनेटर डा. दिलिप यादव, क्याप्टेन रि. भिम सारु केस वर्करका रुपमा आवद्ध हुनुहुन्छ ।

अमृता गिरी गजुरेल र बिनोद बुढाथोकीले असहाय तथा असक्त सम्बन्धि कामको संयोजन गरिरहनु भएको छ ।

महामारीका बेला हामीले १२२ सदस्यीय एक स्वयंसेवक समूहलाई देशभर परिचालन गर्यौं । हामीले भविष्यमा पनि काम गर्न एउटा सशक्त र जुझारु टिम खडा गरेका छौं । हाम्रो विभागले कोभिड १९ का कारण दिवंगत भएका नेपाली र गोर्खा परिवारको तथ्यांक 
संकलनमा पनि विशेष प्राथमिकता दियो । निधन भएका भूतपूर्व गोर्खाको अन्त्येष्टीमा सघाउन हामीले तिनका परिवारलाई जनही ५ सय पाउण्ड गरि तीनहजार पाउण्ड प्रदान गर्यौं । उक्त सहयोग स्वर्गीय घनवीर थापा मगर, भक्त दमाइ, कविरमान राई, गोपाल शाही, जंगवीर बखिम लिम्बु र हरिप्रसाद चेमबाङको परिवारलाई प्रदान गरिएको हो ।

हामीले भूतपूर्व गोर्खा वृद्धवृद्धा र अन्य नेपालीलाई सहज होस् भन्ने उद्देश्यले ब्रिटिश सरकारको कोभिड १९ निर्देशिका नेपाली भाषामा उल्था गरेर वितरण पनि गर्यौं । फार्मेसीमा औषधि र ग्रोसरी सामान किनमेल गर्न असमर्थ भएका भूतपूर्व गोर्खा वृद्धवृद्ध र परिवारलाई हामीले सामान किन्न समेत सहयोग गर्यौं ।

दोश्रो चरणमा ब्रिटिश आर्मीबाट हुने सहयोग र विभिन्न ४१ वटा बेनिफिट दिलाउन अनलाइन प्रणालीमार्फत विभिन्न बेलायती संघसंस्थाहरुसंग नजिकबाट काम गर्ने हाम्रो लक्ष्य छ ।

खासगरि गोर्खा वेलफेयर ट्रष्ट सेल्सबरी, गोर्खा वेलफेयर एड्भाइस सेन्टर अल्डरसट, दि रोयल ब्रिटिश लिजन, भेट्रान एड, साफा, हेग होम्स् र स्टोल जस्ता संस्थाहरु हाम्रो निकटमा छन् । गोर्खा वेलफेयर ट्रष्टका रि. क्याप्टेन ग्यारी घले र गोर्खा वेलफेयर एड्भाइस सेन्टर अल्डरसटका क्या रि. महेन्द्र लिम्बुले हामीलाई धेरै मद्दत गर्नुभएको म यहां स्मरण गर्न चाहें ।

हामीले महामारीका बेलामात्र आफ्नो सक्रियता बढाएका होइनौं । यो विभागले भविष्यमा पनि के कस्ता प्रभावकारी काम गर्न सक्छ भनेर हामी खाका बनाउन लागिरहेका छौं । खासगरि भूतपूर्व गोर्खाहरु समान पेन्सनका लागि लामो समयदेखि आन्दोलनरत छन् । हामी उनीहरुलाई निशर्त अंग्रेज सैनिक सरह समान पेन्सन र नेपाली नागरिकताको निरन्तरता दिइनुपर्छ भन्ने सम्बन्धमा लबिइङ पनि गरिरहेका छौं ।

बेलायतस्थित नेपाली दोश्रो पुस्ता, भूतपूर्व गोर्खा भेट्रान र भूतपूर्व गोर्खा अधिकृतहरुबीच सुमधुर सम्बन्ध, भातृत्व एवं पारस्परिक सहयोग अभिवृद्धि र अन्तरघुलनमा हाम्रो जोड छ । बेलायतका गोर्खा संगठनहरुको आवद्धता हाम्रो लागि मात्र होइन, उहांहरुबीच आपसी एकता अभिवृद्धिमा थप कोशेढुंगा हुने हाम्रो विश्वास छ ।

म यसै लेखमार्फत बेलायतवासी समस्त नेपाली समुदाय र सिंगो एनआरएनए यूके कार्यसमितिसमक्ष रचनात्मक सुझाव सल्लाह पनि अपेक्षा गर्दछु ।

४ करोड आर्थिक घोटालाबारे

एनआरएनए यूकेको ४ करोड रुपैयां बराबरको आर्थिक घोटाला मुद्दाबारे जिज्ञासा राखेको पाएको छु । ढुक्क हुनुहोस्, त्यो मुद्दा त्यतिकै सेलाउने छैन् । विधि विधान अनुसार लेखा समितिले छानबिन गर्नुपर्ने प्रावधान कुल्चेर कार्यसमिति आफ्नै ढंगले बढेको छ ।

तर, एनआरएनए यूकेको आर्थिक छानबिनको बहानामा घोटाला ढाकछोप गर्ने छुट कसैलाई छैन् । विधान अनुसार लेखा समितिबाट छानविन हुनुपर्छ भन्ने हाम्रो अडान हो । विधानको मर्यादालाई मिच्ने अधिकार कसैलाई छैन् ।

बेलायतवासी नेपालीसंग सरोकार राख्ने उक्त अनियमितताविरुद्ध म र मेरो टिम कटिवद्ध भएर लाग्नेछ । स्मरण होस्, म पनि दुई कार्यकाल उपाध्यक्षमा निर्वाचित भएको व्यक्ति हुं । मेलै केही नराम्रो गरेको छु भने त्यो पनि छानबिन दायरामा ल्याइयोस् र गल्ती भए सजाय भोग्न तयार छु । तर, ४ करोड हिनामिनामा संलग्नलाई जसरी पनि कानूनी कठघरामा ल्याउने प्रण हाम्रो छ । यस्ता घट्ना विगतमा पनि भएकाले बेलायतवासी नेपाली आजित भइसकेका छन् । त्यसकारण संघलाई स्वच्छ र पारदर्शी राख्न जरुरी भइसकेको छ जुन आम नेपालीको अपेक्षा पनि हो । हामी जनभावनालाई कुण्ठित हुन दिने छैनौं ।

हामी कुनै पनि हालतमा ‘कम्प्रमाइज’ गर्ने छैनौं । यो आवाज हाम्रो मात्र होइन, समस्त बेलायतवासी आमनेपालीको आवाज हो । बेलायत जस्तो विकसित देशमा बसेर हामी यस्तो घृणित कार्य होइन्, पारदर्शीता चाहन्छौं । तपाईंहरुले हाम्रो यस अभियानमा साथ सहयोग गर्नुहुनेछ भन्ने पूर्ण आशा र भरोसा छ । हामी यहांको मुद्दा टुंगिएपछि एनआरएनए केन्द्रमा भएको करोडौं आर्थिक घोटालाको छानबिनका लागि पनि विश्वव्यापी अभियान चलाउन पछि पर्ने छैनौं ।

(प्रेम गाहा मगर एनआरएनए यूके उपाध्यक्ष तथा गोर्खा विभाग संयोजक हुन्)

प्रतिक्रिया